सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक हुदै, सार्वजनिक गर्नुअघि प्रधानमन्त्री र ‘प्रचण्ड’बीच छलफल
काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ ।
गठबन्धनका शीर्ष नेताको सहभागितामा आज साँझ ४ बजे सिंहदरबारमा प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आज प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।
कार्यदलले गत शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।
यसैबिच प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल चलिरहेको छ ।
उहाँहरुबीच बालुवाटारमा बिहान १० बजेबाटै छलफल चलिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । आज दिउसो ४ बजे सत्तारुढ गठबन्धनले सरकार संचालनका लागि न्यूनतम साझा कार्यक्रमहरु सार्वजनिक गर्दै छ । सो सार्वजनिक गर्नुअघि उहाँहरुबीच छलफल चलिरहेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा आएको १ महिना पूरा हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
























