मकवानपुरमा आजबाट निषेधाज्ञामा कडाई ,सवारीमा जोर-बिजोर प्रणाली लागु
हेटौंडा । मकवानपुर जिल्लामा आजबाट पुन निषेधाज्ञा थप भएको छ । थप भएको निषेधाज्ञा आउँदो साउन ३२ गते सम्म रहेको छ ।
थप भएको निषेधाज्ञा अबधिमा मकवानपुरमा जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारीमा पुन जोर बिजोर प्रणाली लागु गरिएको छ । मकवानपुरमा कोरोना संक्रमणको बढ्नुको साथै संक्रमणको जोखिम उच्च बढेको भन्दै आजबाट थप भएको निषेधाज्ञामा जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू भएको हो ।
जोर बिजोर प्रणाली लागू भएपछि हेटौंडा बजार क्षेत्रमा प्रहरी चेकिङ टोलि खटाईएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका अनुसार हेटौंडाको क्याम्पाडाँडा,संगमचोक,कान्तिराजपथ,सिमाचोक,चौकिटोल ओरालो,थानाभर्याङ,कर्रापुल क्षेत्रमा सवारी जाँच भईरहेको छ ।
यसैबिच मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना पनि गर्न थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरका पसल खुल्ने समयलाई केही घटाइएको छ । प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रत्येक दिन बिहान ११ बजे सम्म खोलिदै आएको खाद्यान्न तथा तरकारी पसल अब बिहान १० बजे सम्म मात्र खोल्न अनुमति दिइएको छ। अन्य व्यवसाय १२ बजे देखी ४ बजे सम्म मात्र सञ्चालनका अनुमति दिइएको छ। दिउसो खोल्ने व्यावसायहरु साँझ ६ बजे सम्म खुल्दै आएका थिए ।
प्रशासनले तोकिएका भन्दा बाहेकका व्यावसाय र होटलहरु पनि दुइसाता अघि देखि सञ्चालनमा रहेका थिए । पछील्लो समय बजारमा निकै भीड बढ्दै गएको छ । सार्वजनिक मानिसको जमघट हुने कार्यक्रमहरु पनि हुँदै आएका छन् । तर यसलाई प्रशासनले नियन्त्रण भने गर्न सकेको छैन ।
प्रशासनले यस अघिको निर्णयलाई परिमार्जन गरेको मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले बताउनुभयो । मकवानपुरमा कोरोनाको सक्रिय संक्रमितको दर बढ्दै गएकोले निषेधाज्ञा थप गर्दै पसल खोल्ने समय परिमार्जित गरेको प्रजिअ पाण्डेले बताउनुभयो । उहाँले सबैलाई स्वास्थ्य मापदण्ड अपनाएर अनिवार्य मास्क भौतिक दुरी कायम गर्ने समेत भनेका छन।
























