हेटौंडाको बुद्धचोकमा एक युवकमाथि खुकुरी प्रहार , घाइतेको उपचार हुँदै
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरको बुद्धचोक क्षेत्रमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
बुधबार बिहान बुद्धचोक क्षेत्रको सडकपेटिमा सामान्य विवादमै प्रहार गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनले भने, ‘पहिलाबाटै उनीहरुको विचमा बिवाद रहेको र मिलापत्र पनि भएको देखिन्छ । कुन कुरामा चित्त बुझेन कुन्नी आँखा तरेको भन्दै विवाद हुँदा खुकुरी प्रहार भएको बुझिएको छ ।’
खुकुरी प्रहारबाट घाइते भएका हेटौंडा १ चाइनाक्वाटर बस्ने वर्ष २६ का प्रशान्त नगरकोटीको हेटौंडा अर्थोपेडिक हस्पिटलमा उपचार भइरहेको प्रवक्ता रिमालले बताए । खुकुरी प्रहारबाट उनको खुट्टामा चोट लागेको र मध्यम खालको चोट रहेको उनले बताए ।
त्यस्तै खुकुरी प्रहार गर्ने हेटौंडा–१० बसपार्क बस्ने वर्ष २१ को सौरभ लामालाई नियन्त्रणमा लिइ हेटौंडामा अस्पतालमा उपचाररत रहेका छन् । उनलाई नगरकोटीले टाउकोमा इट्टा प्रहार गरेका थिए । सौरभसंग उनको दाई समेत रहेको र उनी फरार रहेको प्रवक्ता रिमालले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
























