अन्तराष्ट्रिय युवा दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम

हेटौंडा । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत हेटौंडामा आज भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।

युवा समिति मकवानपुरका अध्यक्ष शिबहरि दाहालले अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा हेटौंडा ४ मा रहेको प्रदेश युवा परिषद् बागमती प्रदेशको कार्यालयमा युवा परिषद्को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला युवा समिति मकवानपुरको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको बताए । रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको अध्यक्ष दाहालले बताएका हुन् ।

परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ । अगष्ट १२ बाट सुरु भएको सप्ताहव्यापी कार्यक्रमलाई सम्पन्न गर्न ५१ सदस्यीय मुल आयोजक समिति बनाइएको छ ।

साताव्यापी कार्यक्रमको पहिलो दिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको विशेष आतिथ्यतामा प्रदेश युवा परिषद्को हेटौंडास्थित कार्यालयको उद्घाटन गरिएको थियो ।

त्यस्तै साउन २९ गते जिल्ला युवा समिति मकवानपुरको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ भने साउन ३० गते जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड कार्यक्रम आयोजना गरिने भएको जनाइएको छ ।

साउन ३१ गते बाल कल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रबाट जोगाउ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिने, साउन ३२ गते शिक्षाका लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम संचालन गरिने, भदौ १ गते हेटौंडा लेडी जेसिसको समन्वयमा वक्तृत्वकला प्रतियोगिता संचालन र भदौ २ गते कार्यक्रम समापन गरिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस विश्वका विभिन्न मुलुकमा सन् २०२० र नेपालमा सन् २००४ देखि मनाउन सुरु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*