उद्योग संघ मकवानपुरद्धारा हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन हुने

हेटौंडा । हेटौंडा अस्पताललाई उद्योग संघ मकवानपुरले स्थापना गरेको अक्सिजन प्लान्ट आइतबार एक समारोहबीच हस्तान्तरण गरिएको छ ।

यस प्लान्टबाट दैनिक एक सय १५ देखि १ सय २० शिलिण्डर सम्म अक्सिजन उत्पादन हुने छ । ३१ जना सहयोगी हातहरुबाट रकम संकलन गरेर उद्योगसंघ मकवानपुरले एक करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा अक्सिजन खरिद गरेर अस्पताललाई हस्तान्तरण गरिएको हो ।
हेटौंडा अस्पतालको परिसरमा स्थापना गरिएको प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

रजिष्टार प्रसाईंले भने,‘ केहि महिनाअघि अस्पतालमा अक्सिजनको अभाव भएर बिरामीहरु अन्यत्र रिफर गर्नु परेको थियो । ‘अब त्यस्तो समस्या व्यहोर्नु पर्दैन,’हेटौंडाका उद्योगीहरुको सहयोगका कारणले अब विरामीको उपचारको निम्ति हेटौंडा अस्पतालमा अक्सिजनको समस्या हुँदैन ।’

यसअघि हेटौंडा उपमहानगरपालिकाले पनि अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिसकेको र त्यसबाट अक्सिजन उत्पादन भइरहेको मेयर हरि बहादुर महतले बताएका छन् ।

उपमहानगरपालिकाकै लागनीमा अस्पतालमा डायलासिस सेवा पनि सुरु भएको छ । मकवानपुरका मृगौलाका बिरामीहरुले चितवन, काठमाण्डौ जाने भन्दा पनि हेटौंडा अस्पतालबाट नै यो सेवा लिनका लागि मेयर महतले आग्रह गरेका छन् । डायलासिस सेवा लिनका लागि चितवन र काठमाण्डौ जादै आएका केही विरामीले अस्पतालबाट सेवा लिदै आएका छन् ।

अस्पतालमा अहिले ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । अस्पतालमा १७ बेड आईसीयू, १६ शय्याको एचडीयू, भेन्टिलेटरसहितको ६ वटा र आकस्मिक कक्षमा ८ वटा बेड रहेका छन् । अस्पतालमा अहिले १ सय २० शय्या छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*