हेटौंडामा ‘सार्क ओपन स्कुल तथा विजनेस कलेज’ को सुरुवात
मकवानपुर, १ भदौ । परम्परागत घोकन्ते शिक्षाबाट आजित भएकाहरुका लागि हेटौँडामा यसै वर्षदेखि नयाँ व्यवहारिक शिक्षाको पठनपाठन सुरु हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा ‘सार्क ओपन स्कुल तथा विजनेस कलेज’ ले यो वर्षबाट पठनपाठन सुरु गर्ने भएको हो । सार्क एजुकेशन फाउण्डेसनले हेटौँडामा पत्रकार सम्मेलन गर्दै विद्यार्थीलाई ब्यवाहारिक ज्ञान (प्राक्टिकल नलेज) दिने उदेश्यले कलेजको सुरुवात गरेको जानकारी दिएका छन् ।
हालको तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय तथा नारायणी कलेजको स्वामित्व लिएर ‘सार्क एजुकेशन फाउण्डेसन’ले ‘सार्क ओपन स्कुल तथा विजनेस कलेज’ को सुरुवात गरेको हो । फाउण्डेसनका सिइओ लक्ष्मण बस्नेतले विद्यार्थीहरुलाई ब्यवहारिक शिक्षा दिने उदेश्यले विद्यालय तथा कलेजको सुरुवात गरिएको बताए । हालको शिक्षा सुगा रटाईको जस्तो रहेको भन्दै उनले विद्यार्थीलाई ब्यवहारिक शिक्षा दिन सकेमात्र उनीहरु दक्ष हुने बताए । नेपालमा नयाँ ढाँचामा शिक्षालय सञ्चालन गर्न सकिने उदहारण समेत आफुहरुले प्रस्तुत गर्न लागेको भन्दै बस्नेतले प्रत्येक कक्षालाई व्यवहारिक बनाउन ल्यावको रुपमा विकास गरिने बताए । हरेक विद्यार्थीले जे पढ्छन, त्यो विषयमा ब्यवहारिक ज्ञान पनि दिँदै जाने हो भने उनीहरुले दक्ष भएर पढाई पुरा गर्ने र उनीहरुले पढाईसँगै आफुलाई व्यवहारिक नागरिक तथा दक्ष नागरिक पनि बनाउँदै लानेमा उनले विश्वास व्यक्त गरे ।
हरेक कक्षालाई प्रयोगशाला बनाउने र विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा सिकाईने लक्ष्यसहित क्याम्पस सञ्चालन गर्न लागेको फाउण्डेसनका निर्देशक किसन बास्तोलाले बताए । कलेज लेभलका विद्यार्थीहरुलाई रोजगार सहितको शिक्षा दिने र त्यसको लागि दक्ष बनाईने समेत उनको भनाई रहेको छ । हाल चलनचल्तीमा रहेको घोकन्ते विद्यालाई परिमार्जन गर्दै सिकाईमा जोड दिनुपर्ने उनको धारणा थियो । विद्यार्थीलाई बन्द कोठाभित्र राखेर घोकन्ते विद्यामात्र सिकाउँदा वेरोजगार विद्यार्थीहरुको संख्या बढ्ने भन्दै उनले बन्द कोठाबाहिर लगेर विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउनुपर्नेमा जोड दिएका छन् ।
विद्यालयले यसै शैक्षिक सत्रदेखि अध्यापन गराउने तयारी समेत गरिसकेको छ । फाउण्डेसनले दिएको जानकारी अनुसार विद्यालयबाट शिक्षा लिँदै गर्दा नै विद्यार्थीहरुले व्यवहारिक ज्ञान सिक्न सक्ने भएकोले उनीहरु बेरोजगार रहनेछैनन् । बरु उनीहरु प्रत्येकसँग आफ्नो शिक्षा अनुसारको सिप पनि हुनेछ ।
























