आज पनि बस्दै बागमती प्रदेशसभा बैठक

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

हिजो दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक प्रदेशसभा नियमावली संशोधनका लागि समिति गठनमा सर्वदलीय सहमती कायम गर्न समस्या हुँदा तोकिएको समयभन्दा करिव साढे २ घण्टा ढिलो गरी बसेको थियो ।

नियमावली संशोधनका लागि समिति गठन गरी अघि बढ्नु पर्ने विपक्षीहरूको माग अनुसार सर्वदलीय बैठकमा केही विपक्षी दलका नेताहरु आउँन ढिला हुँदा प्रदेश सभाको बैठक अबेर गरी सुरु भएको थियो ।

हिजो बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त ४ वटा विधेयक प्रमाणीकरणको सूचना संसद्मा बाचन गरेर सुनाएका थिए ।

त्यस्तै बैठकको शुन्य समयमा समय माग गरी बोल्दै प्रदेशको सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले सरकारले पार्टी फुटाउने अध्यादेश ल्याएकोमा विरोध गरेका थिए ।

उनीहरुले संसद्मा आफ्नो धारणा राख्दै संघीय सरकारले नेकपा एमाले फुटाउनको लागि अध्यादेश ल्याएकामा विरोध गर्दै उक्त विधेयक तत्काल खारेज गर्नुपर्ने माग गरेका थिए ।

उनीहरुले बैठकमा सरकारले बहुदलीय प्रजातन्त्रमा दलहरूलाई प्रधानता दिएर सशक्त तुल्याउनुपर्ने अवस्थामा नेकपा एमालेमा विवाद कायमै रहेको बखत पार्टी विभाजन सम्बन्धी विधेयक ल्याउन नहुने र त्यसलाई तत्काल खारेज गर्नुपर्ने माग गरेका थिए ।

त्यस्तै बैठकमा सांसदहरुले अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुको यथाशिघ्र उद्दार गर्न माग गरेका थिए ।

उनीहरुले प्रदेश सरकारले पनि उक्त कार्यमा संघीय सरकारलाई सघाउन सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

त्यस्तै उक्त बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले एक सार्वजनिक वक्तव्य पेश गरेका थिए ।

उक्त वक्तव्य अनुसार गत असारमा सिन्धुपाल्चोकको हेलम्बु, मेलम्चीसहित प्रदेशका विभिन्न जिल्लाहरुमा बाढीपहिरोबाट प्रभावित नागरिकहरुलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको उल्लेख छ ।

मन्त्री पाण्डेले प्रभावित नागरिकहरुलाई प्रदेश सरकारका तर्फबाट प्रत्यक्ष राहतस्वरुप खाद्यान्न र नगदसमेत उपलब्ध गराइसकिएको बताए ।

त्यस्तै बैठकमा प्रदेशसभाका सदस्य जुनेलीमाया श्रेष्ठले प्रदेशसभा नियमावली २०७४ को नियम २१६ को उपनियम ९३० बमोजिम नियमावली संशोधन मस्यौदा समिति गठनको प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त प्रस्तावलाई सांसदहरु रमेश पौड्याल, निमा लामा, मिना खनाल र रत्नप्रसाद ढकालले समर्थन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*