बागमति प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य : बनिन् नेपाली इतिहासमै पहिलो महिला मुख्यमन्त्री
हेटौंडा । नेपालको इतिहासमै पहिलो पटक महिला मुख्यमन्त्री बन्ने सौभाग्य अष्टलक्ष्मी शाक्यले पाउनु भएको छ । नेकपा एमाले विधिवत् रुपमा विभाजित हुँदा संस्थापन पक्ष एमाले नै रोजेपछि शाक्यलाई मुख्यमन्त्री बन्ने अबसर जुर्यो ।
उहाँले बुधबार राति नै बागमति प्रदेशका प्रमुख विष्णु प्रसाईँबाट नियुक्ति पाउनु भएको छ । उहाँले आफ्नो नियुक्ति मात्रै पाउनु भएन, एउटा गहन इतिहास पनि लेखाउनु भएको छ । मुलुक संघियतामा गएर सात प्रदेशमा छुट्टा छुट्टै सरकार ठन हुँदा पनि महिलाले मुख्यमन्त्रीको जिम्मेवारी पाएका थिएनन् ।
तत्कालीन नेकपा विभाजित भएर तत्कालीन मुख्यमन्त्रीहरु फेरबदल हुँदा पनि महिलाहरुले मुख्यमन्त्री बन्ने अबसर पाएका थिएनन् । उहाँले मुख्यमन्त्रीको महिला इतिहास मात्रै बनाउनु भएन ।
उहाँले एमालेका मुख्यमन्त्रीहरु गुम्दै जाँदा एमालेकै मुख्यमन्त्री कायमसमेत गर्नुभएको छ । एमालेकै सत्ता रहेको बाग्मतिमा निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि शाक्यले एमालेकै तर्फबाट संसदीय दलको नेतासँगै मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।
को हुन् अष्टलक्ष्मी शाक्य ?
बि.स २०१० मा काठमाडौंमा जन्मिनु भएकी शाक्यले एसएलसी पास गरेपछि २०२९ सालबाट राजनीतिक यात्रा थाल्नु भएको थियो । उहाँ राजनीतिक यात्राका क्रमममा पटक पटक पक्राउ समेत पर्नुभएको थियो । उहाँ पञ्चायतका बिरुद्ध एक दशक भन्दा बढी भूमिगत राजनीतिमा रहनु भएको थियो ।
भूमिगत राजनीतिका क्रममा २०४५ सालमा उहाँ इलामका पक्राउ पर्नुभएको थियो । त्यसपछि उहाँले अखिल नेपाल महिला संघको अध्यक्ष पनि सम्हाल्नु भएको थियो । त्यसअघि २०३७ सालमा भूमिगत रहेकै अवस्थामा उहाँले पार्टीकै नेता अमृतकुमार बोहरासँग बिवाह गर्नु भएको थियो ।
पछि उहाँ २०५६ सालको निर्वाचनमा पहिलो पटक संसदमा निर्वाचित हुनु भएको थियो । त्यस्तै २०७१ र ७४ सालमा पनि उहाँ काठमाडौंबाट संसदमा निर्वाचित हुनुभएको थियो । सालको निर्वाचनमा पनि उहाँ प्रदेश संसदमा निर्वाचित हुनु भएको थियो । उहाँ माधव नेपाल पक्षका नेतृको रुपमा चिनिदै आएपनि अन्त्यमा एमाले ओली पक्षमै खुल्न् भएको छ ।
News24बाट साभार
























