नेपाल र ठाकुरले नयाँ नामसहितको पार्टी दर्ताका लागि निवेदन दिए

काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेका माधवकुमार नेपालको नेतृत्वमा गठित नेकपा एमाले (समाजवादी) पार्टीको नाम फेरिएको छ । महन्थ ठाकुरले नेतृत्व गरेको दलको नाम पनि बदलिएको छ । निर्वाचन आयोगले एउटा पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने सुझाव दिएपछि दुवै दलले नाम बदलेर फेरि आयोगमा निवेदन दर्ता गराएका छन् ।

नेकपा एमाले (समाजवादी) दर्ताका लागि बुधबार निवेदन दिएका नेपालले एमालेसँग नाम मिल्दोजुल्दो भएको भन्दै आयोगले अर्को नाम ल्याउन भनेपछि शुक्रबार आयोगमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) राख्न निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपालको पार्टीको चुनाव चिह्न भने अझै टुङ्गो लागेको छैन ।

जनता समाजवादी पार्टीबाट विभाजन भएर गएको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि पार्टीको नयाँ नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ । नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखिएको छ । यसअघि ठाकुरको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखिएको थियो ।

यसैबीच, आयोगले दुवै दल दर्ताको प्रक्रिया अघि बढाएको छ । आयोगका प्रवक्ता श्रेष्ठले दल दर्ताका लागि निवेदन दिएका दुवै दलहरूले अनुसूची अनुरुपको फारम भरेर ल्याएपछि राजनीतिक दल दर्ताका लागि सनाखत सुरु हुने जानकारी दिनुभयो । नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएको छ ।

शुक्रबार आयोग पुगेका एमाले नेताहरूले नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन आएको सुनेको भन्दै नाम मिल्ने गरी अर्को दल दर्ता नगर्न चेतावनी दिएका हुन् । माधव नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन समेत आयोगमा पत्र बुझाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*