हेटौँडामा ब्लु डायमण्ड सोसाईटीको ‘गाईजात्रा’
हेटौँडा, ७ भदौ । ब्लु डायमण्ड सोसाईटीको आयोजनामा सोमबार हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
सोसाईटीले ‘राईट हियर राईट नाउ’को सहयोगमा हेटौँडा ११ सहिद स्मारक परिसरमा गाईजात्रा कार्यक्रम गरेको हो ।
संस्थाले बिगत १८ वर्षदेखि काठमाडौँ उपत्यकामा गाईजात्रा कार्यक्रम आयोजना गर्दै आएको थियो ।
तर यसवर्ष भने कोरोनाको जोखिमका कारण हरेक जिल्ला–जिल्लामा कार्यक्रमको आयोजना गरिएको ‘राईट हियर राईट नाउ’ का कार्यक्रम संयोजक अनुज पिटर राईले जानकारी दिएका छन् । गाईजात्राले स्वतन्त्रताको समेत वकालत गर्ने भएकोले लैंगिक तथा अल्पसंख्यकको पहिचानको लागि पनि यो पर्व उचित भएको राईले बताए ।
ईतिहासमा पनि गाईजात्राका समयमा केटा मान्छे समेत केटी भएर हिँड्ने चलन भएको भन्दै उनले आफुहरुको पहिचानसँग यो पर्व जोडिएको विश्वास व्यक्त गरे ।
कार्यक्रममा लैंगिक तथा अल्पसंख्यक समुदायका २५ जना सहभागीहरुले स्वास्थ्य मापदण्ड पालना गरी प्ले कार्ड सहित गाईजात्रा कार्यक्रम गरेका थिए ।

























