हिम्मत नभएकाहरु अरुको पछि लागिरहन्छन् , क्रान्तिकारीहरु अगाडि बढ्छन् – माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पूर्वसहकर्मीहरुप्रति हिम्मत नभएकाहरु भन्ने टिप्पणी गर्नुभएको छ ।

नयाँ पार्टी गठन गरेपछि पहिलो पत्रकार सम्मेलनमा नेता नेपालले लामो समय आफ्नो पक्षमा रहेर पनि पार्टी विभाजनमा साथ नदिएका नेताहरुलाई इग्गित गर्दै भन्नुभयो, ‘हिम्मत नभएकाहरु अरुको पछि लागिरहन्छन् । अरुको पछि लतारिन्छन् । क्रान्तिकारीहरु अगाडि बढ्छन् । इतिहासमा यस्तो हुनेगर्छ । यो कम्युनिष्ट पार्टी पुनर्गठनको योजना हो ।’

यद्यपि, नेता नेपालले आफूलाई छाड्नेप्रति कुनै गुनासो नरहेको भन्दै भन्नुभयो, ‘लामो यात्रामा कोही बीचमै थाक्दा रहेछन् । थाक्ने थाकिरहन्छन्, विभिन्न कारणले अघि बढ्न नसक्नेहरू थाकिरहन्छन् । मेरो केही गुनासो छैन ।’

केपी ओलीले पार्टीलाई मृत अवस्थामा पुर्‍याएपछि विद्रोह गर्नुपरेको तर्क गर्दैै नेता नेपालले ओली गुटबाट बाहिर निस्केर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुट्न देशभर रहेका नेता कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।

शुरुमा नेपालतर्फ रहेर केपी ओलीको विरोधमा उत्रने नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहराले पार्टी विभाजनमा नेपाललाई साथ दिएका छैनन् ।

गत वर्ष चैतको ४ र ५ मा भएको राष्ट्रिय भेलाको भावना अनुरुपै नयाँ पार्टी बनाएको जिकीर गर्दै उहाँले दक्षिणपन्थी भासमा फसेका ओलीले पार्टी विभाजित हुँदा भोजभतेर गरेर खुशी मनाएको आरोप पनि लगाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*