सवारी लाइसेन्सको परीक्षा भदौ २० देखि सुरु हुने

काठमाडौं । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो ।

यातायत व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार भदौ २० गतेपछि क्रमैसँग देशभरका लाइसेन्स कार्यालयले परीक्षा फेरि थाल्नेछन् । अब नयाँ प्रणालीबाट परीक्षा हुनेछन् ।

कोभिड-१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन समबन्धी मापदण्ड-२०७८’ नै जारी गरेर परीक्षा सुरु गर्न लागिएको उनले बताए ।

‘महामारीमा कसरी परीक्षा सञ्चालन गर्ने भनेर मापदण्ड बनाएका छौं, महामारी फैलिन नदिने गरी परीक्षाहरु हुन्छन्,’ भुसालले भने ।

महामारीमा सुरक्षित परीक्षा

परीक्षार्थी स्वयमले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पीउने पानीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको शारीरिक तापक्रम मापन गर्नुपर्ने लगायतका व्यवस्था पनि गरिएको छ ।

प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउने, कोभिड-१९ संक्रमण भएका परीक्षार्थीहरुलाई निको भएपछि निजको रिपोर्ट हेरेर प्राथमिकतापूर्वक परीक्षामा सामेल गराउने लगायतका व्यवस्था पनि मापदण्डमा छ ।

मापदण्डअनुसार परीक्षा सुरु हुनु अगावै परीक्षार्थीहरुलाई उनीहरुको ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिनेछ । यसरी तोकिएको समयमा उपस्थित हुन नसक्ने परिक्षार्थीलाई अनुपस्थित भएको मानिने रसोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने नियम बनाइएको छ ।

परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई मात्र सहभागी गराउने भनिएको छ । कार्यालयले खुल्ला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नु पर्ने मापदण्डको व्यवस्था छ ।

प्रश्नोत्तर संग्रहबाटै परीक्षा

अब सुरु हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ नियमहरु लागू गर्ने हुनेछन् ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।

त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।

आफ्नै सवारीमा ट्रायल

लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् । तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

कार जीपको हकमा कम्तिमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर ह्विल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

निर्देशिकाअनुसार ट्रायलमा प्रयोग गरिने सवारीमा इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्नेछ । झ्याल, ढोका, लकलगायतका प्रणाली ठीक हुनुपर्छ । ट्रायल गर्दा काररजीपको ‘रेयर भ्यू’ क्यामेरा छोप्नुपर्नेछ । अनलाइनखबरबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*