एमालेले संसद बैठक चल्न नदिने
काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक चल्न नदिने निर्णय गरेको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो ।
सभामुख अग्नि सापकोटा नै एमाले फुटाउने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाउँदै एमालेले सदन अवरुद्ध गर्ने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै एमााले अध्यक्ष केपी ओलीले भन्नुभयो, ‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता गर्ने हुनाले त्यहाँ पुग्ने स्थिति छैन । गैरसांसद उपस्थित भएर संसद् चल्न सक्दैन । त्यसो हो भने हामी पहिलेका सांसदहरू ल्याउछौं ।’
सभामुख सापकोटाले निष्पक्ष भूमिका नखेलेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्छ । सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन ।’
एमालेकै प्रमुख सचेतक विशाल भट्टराईले पनि सभामुख सापकोटाको भूमिका, एमसीसी, जयसिंह धामीको घटनामा सरकारको व्यवहार, निर्वाचन आयोगले एमाले विभाजन गरेको लगायतका विषय उठाएर संसद अवरुद्ध गर्ने जानकारी दिनुभएको छ ।
संसद बैठक आज अपराह्न चार बजेका लागि संसद भवन बानेश्वरमा बस्ने गरी आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी नै संसद चल्न नदिने गरी उत्रिने भएपछि आजको बैठक बस्नेमा शंका उत्पन्न भएको छ ।
























