ओलीले दायर गरेको मुद्दा पेशी चढे पनि हेर्न नमिल्नेमा
काठमाडौँ – आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा सारिएको छ ।
सोमबार सुनुवाईका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलास तोकिएको थियो । ओलीले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्ने विषयमा सुनुवाई हुन भनिए पनि हेर्न नभ्याइनेमा गएको हो । बार–बेन्च समन्वय समितिको बैठकका कारण मुद्दा हेर्न नमिल्नेमा सारिएको हो ।
एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरूद्ध तीनवटा रिट दायर गरेका छन् । त्यसमध्येका दुई रिटमा सोमबार अन्तरिम आदेश दिने–नदिने विषयमा सुनुवाइ हुने तयारी थियो ।
एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध रिट दायर गरेका हुन् । सो रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो।
लुम्बिनी प्रदेशका २ सांसदलाई कारबाही गरिएकोमा प्रदेश सभामुखले नगरेको भन्दै दिएको तेस्रो रिटमा पनि सर्वोच्च अदालतले भदौ २८ लाई नै अन्तरिम आदेशका लागि छलफलका लागि बोलाएको छ ।
























