सर्वदलीय बैठकमा एमाले नजाने
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको राजीनामा मागेको छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै आएको एमालेले प्रतिनिधिसभा लगातार अवरोध गरिरहेको छ ।
संसदको अवरोध खुलाउन विषयमा सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् । सो बैठकमा पनि एमाले नजाने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा गएर केही उपलब्धि नहुने भएकाले आफूहरु बैठकमा नजाने बताए ।
भदौ १ गते एमालेले साउन २५ को निर्णय भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरिएको सूचना संसद सचिवालयमा
दर्ता गराएको थियो । तर, सभामुख सापकोटाले सो विषयमा ‘अध्ययन’ गरिरहेको बताएर सूचना प्रकाशित गरेनन् । भदौ २ मा माधवकुमार नेपालसहितका सांसदहरुले एमाले विभाजन गर्दै नयाँ दलका लागि निर्वाचन आयोगमा निवेदन दिए । भदौ ९ गते निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल नेकपा ९एकीकृत समाजवादी०लाई वैधता दियो ।
निर्वाचन आयोगले एमाले विभाजन गरेर बनेको दललाई वैधता दिएपछि सभामुख सापकोटाले ती १४ जना सांसदलाई कारबाही गरिएको सूचना प्रकाशित गर्नुनपर्ने निर्णय लिए । यही विषयलाई लिएर एमालेले सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ ।
























