शिखर अर्गनाइजेशनद्वारा हुप्राचौर सफाई
असोज ०२,हेटौंडा । शिखर अर्गनाइजेशनद्वारा आज हेटौंडा–४ मा रहेको खेल मैदान हुप्राचौरको सरसफाई गरिएको छ । शिखर अर्गनाइजेसन अन्तर्गतको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था,गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर,शिव शिखर एग्रो प्रा.लि र शिखर वार बुदो कैदोको संयुक्त पहलमा आज बिहान हुप्राचौर सरसफाई गरिएको हो । बिगत लामो समय देखि वर्षायाम र लकडाउनका कारण झार उम्रिएर फोहोर बनेको हुप्रचौर क्षेत्रको सरसफाई गरिएको हो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको उपस्थिती रहेको थियो । शिखर ब्राण्डको मेसिनको प्रयोग गरी झार काट्ने, फाड्ने, फोहोर टिप्ने लगायतका काम गरिएको थियो । सरसफाई कार्यक्रममा शिखर अर्गनाइजेशनका प्रतिनिधी,नेपाल प्रहरी,नगर प्रहरी,खेलप्रेमी युवाहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि साथै स्थानियको सहभागिता रहेको थियो ।
























