चुनावपछि सत्ता गठबन्धनमा आबद्ध दलहरुको अस्तित्व संकटमा पर्छ – ओली
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि सत्ता गठबन्धनमा आबद्ध दलहरुको अस्तित्व नै संकटमा पर्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका क्रममा ओलीले अबको १४ महिनापछि चुनाव हुने भन्दै कांग्रेस, माओवादी, नेकपा (एस) लगायत दलहरु हराउने र बिलाउने बताएका हुन् ।
अन्य दललाई फ्रिजका आइससँग तुलना गर्दै ओलीले भने, ‘धेरै चिन्ता नगर्नुस् । १४ महिनामा चुनाव हुन्छ । १५ महिनामा सरकार बन्छ । यी कता हराउँछन्, कता बिलाउँछन् । यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन यो । ती डल्ला बाहिर राखिदिएपछि केही छिनपछि पग्लिहाल्छन् ।’
आफू प्रधानमन्त्री हुँदा घोषणा गरिएको चुनावको विरोध गरेका वर्तमान सत्ता गठबन्धनले टार्न खोजिए पनि चुनाव नगरी धर नभएको उनले बताए । ‘१४ महिनापछि त चुनाव गर्नु पर्छ । चुनाव गराउँदा अनिवार्य रुपमा देश प्रतिगमनमा जाने भयो त ? जनादेश आउँदा चुनाव प्रतिगमन हुने भयो ? संविधान मिचिने भयो त ? कस्तो शासन खोजेका छन् यी तानाशाहहरुले ? चुनाव टाल्ने काम । कुनै पनि हिसाबले चुनाव नगराएर धर छैन । चुनाव गर्न तिनीहरु बाध्य छन्,’ ओलीको भनाइ थियो ।
ओलीले अहिलेको सरकार अस्वाभाविक ढंगले निर्माण भएको भन्दै गैरजिम्मेवार, जनताप्रति उत्तरदायी नरहेको आरोप पनि लगाए ।
कर्मचारीहरुलाई आफ्ना सही र उद्देश्यमा अगाडि बढ्न ओलीले निर्देशन समेत दिएका थिए ।
























