पदकप्रति ओलीको आक्रोशः ‘पदक दिइएको व्यक्तिलाई हेर्दा पदक आफैले लज्जा मानिरहेको छ’
काठमाडौँ – संविधान दिवसका अवसरमा सरकारले बाँडेको पदकप्रति विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन्।
संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बाबुलाई दिइएको पदकप्रति विरोध जनाएका हुन्।
संविधान दिवसको अवसरमा सरकारले दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री र नेपालका पिता मंगलप्रसाद उपाध्यायलाई मरणोप्रान्त सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण दिने निर्णय गरेको छ।
त्यसप्रति आपत्ति जनाउँदै ओलीले सत्ता गठबन्धनका नेताहरु आफ्नो र परिवारको स्वार्थमा मात्र सीमित भएको आरोप लगाए। उनले भने, ‘आज बाउको मुख हेर्ने दिन हो, श्रीमतीको अनुहार हेर्ने दिन होरु सहिद, सहिदको परिवार सम्झनुपर्दैनरु बाहिर बाहिर हामीलाई केही चाहिँदैन, पद चाहिँदैन भन्ने आज हेर त ।’
ओलीले आफ्नाविरुद्ध फैसला गर्ने न्यायाधीश, बहस गर्ने वकिल र लेख्ने पत्रकारलाई समेत सरकारले योजनाबद्ध रुपमा पदक दिएको उल्लेख गरे।
‘अघिल्लो लोकप्रिय सरकारविरुद्ध लेख्ने, पत्रकार प्रशासकलाई पदक दिइएको छ। फैसला गर्ने न्यायाधीश, तथानाम गाली गर्ने वकिल सबैलाई पदक दिइएको छ। न्यायको तराजु कता हल्लाउँदा ठीक पर्छ भन्नेलाई पनि पदक। केही नाम त अझै छुटेछ।’
ओलीले दिइएको व्यक्तिलाई हेर्दा पदक आफैले लज्जा मानिरहेको उल्लेख गरे। ‘बोल्न सक्ने भए उफ्रिन्थे होला, कस्ताको गाला कुहिन पर्यो भनेर’, ओलीले भने। उनले यो लज्जाजनक विषय भएकाले इतिहासले निर्मम मूल्यांकन गर्ने उल्लेख गरे।
सरकारले संविधान दिवसका अवसरमा आफू निकट पत्रकार, वकिल र आफ्नो पक्षमा लाग्ने व्यक्तिहरुलाई विभूषित गरेको छ। ९०३ जनालाई पदक दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण र र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप पदक प्रदान गरिएको छ।
त्यस्तै न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले प्रसिद्ध प्रवल जनसेवाश्री पदक पाएका छन्। यसरी प्रतिनिधिसभा विघटनको पहिलो मुद्दामा संवैधानिक इजलासमा रहने सबै न्यायाधीशहरु पदकबाट विभूषित भएका हुन्।
संसद विघटनको विपक्षमा वकालत गर्ने अधिवक्ताहरुले पनि पदक पाएका छन्। वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्तिनारायण प्रधान, मिथिलेश सिंह, रमणकुमार श्रेष्ठ र दिनेश त्रिपाठीले सुकीर्तिमय राष्ट्रद्वीप पाएका छन् । त्यस्तै अधिवक्ताहरुमध्ये गोविन्द बन्दी र पदम रोक्कालाई पनि सुकीर्तिमय राष्ट्रद्वीप पदक दिइएको छ।
























