आजदेखि दशैका लागि नयाँ नोट वितरणको काम सुरु
हेटौंडा । नेपाल राष्ट्र बैंकले आज देखि दशैका लागि नयाँ नोट वितरणको काम सुरु गरेको छ । तर, हेटौंडामा नेपाल बैकले नयाँ नोट कहिलेबाट वितरण गर्न सुरु गर्छ भन्ने अन्यौल रहेको छ । देशभरका बैकहरुले नयाँनोट वितरण सुरु गरिएपनि हेटौंडाका बैकहरुले भने नयाँनोट वितरणको काम सुरु गरेका छैनन् ।
यसअघि पनि पहुँचवालाहरुले मात्र नयाँ नोट लिदै आएका थिए । तर, हेटौंडामा कहिलेबाट नयाँ नोट वितरण गर्नका लागि राष्ट्र बैंकले पठाउँछ भन्नेमानै अन्यौलता रहेको छ । दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने भएका छन् । दशैँमा नयाँ नोटको विशेष महत्त्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाण्डौ उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।
वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
यस्तै काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशमा रहेको कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गएर नोट सटहीको सुविधा लिन सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र भौतिक दूरीको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।
























