मकवानपुरगढीमा पक्कीपुल निर्माण सुरु
हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा १४ करोड रुपैयाँ लागतमा १ सय २० मिटर लामो पक्की पुल निर्माणको काम सुरु भएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नंबर २ लामिडाँडा र वडा नंबर ६ डुम्रेकुना जोड्ने पुल निर्माणको काम सुरु भएको हो ।
पुल नहुँदा हिउँद र वर्षायाममा समेत सवारीका साधन ओहोर दोहोर गर्नका लागि वर्षौ देखि समस्या भएको र अब भने सहज हुने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए ।
संघीय सरकारको लगानीमा ठेक्का मार्फत पुल निर्माण सुरु भएको हो । पुल निर्माणले विकासको महत्वपुर्ण कोषेढुङ्गा सावित हुने उनले बताए ।
डुम्रेकुनामा अस्पताल निर्माण हुँदै गरेकोले यस अस्पतालमा आउनका लागि पनि पुलले निकै सहज हुने उनले बताए । पुल निर्माण भएपछी गढी गाउँपालिकाका सबै वडाका नागरिकलाई सहज हुने छ । दुइवर्ष भित्रमा पुल निर्माण गर्ने संझौता भएपनि एक वर्षभित्रमा निर्माणको काम सक्ने उनले बताए ।
























