बुद्ध एयरको विमान सकुशल अवतरण गराउने शेर्पाले तत्काल विमान उडाउन नपाउने
काठमाडौँ– ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् । गत सोमबार ८ः३० मा काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौँमा अवतरण गरेको थियो ।
सो प्रकरणमा छानबिन भइरहेकाले क्याप्टेन शेर्पाले तत्काल विमान उडाउन नपाउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । स्रोतका अनुसार उनीमाथि पनि छानबिन भइरहेको छ ।
विमानमा कुनै समस्या आए पायलटमाथि पनि छानबिन हुने र छानबिनमा परेका पायलटले विमान उडाउन नमिल्ने भएकाले उनले विमान उडान नपाउने भएका हुन् । उनले छानबिनको अवधिमा पायलट लाइसेन्स पनि प्रयोग गर्न पाउने छैनन् । अहिलेलाई उनको पायलट लाइसेन्स स्थगित गरिएको छ ।
७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो । तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौँमा नर्मल अवतरण गरिँदा ठूलो दुर्घटना टरेको थियो । त्यसपछि क्याप्टेन शेर्पाको सबैतिरबाट प्रशंसा भएको थियो ।
























