तामझामका साथ एमाले विधान महाधिवेशन सुरु

काठमाडौँ – एमाले विधान महाधिवेशन सुरु भएको छ।

तीन दिनसम्म चल्ने एमालेको पहिलो महाधिवेशन ललितपुरको गोदावरीमा तामझामका साथ सुरु भएको हो। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने गर्नेछन्।

पहिलो दिन प्रस्तुत गरिने तीन प्रतिवेदन एवं प्रस्तावमाथि महाधिवेशनको दोस्रो दिन समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने एमालेले जनाएको छ।

महाधिवेशनको अन्तिम दिन समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले स्पष्ट पार्दै सार संक्षेपीकरण गर्ने कार्यसूची रहेको छ।

विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्।

विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि सहभागी हुनेछन्।

त्यस्तै प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखसमेत विधान महाधिवेशनमा प्रतिनिधि सहभागी छन्।

प्रतिनिधिको संख्या ६ हजार तीन सय भन्दा बढी रहेको छ।

महाधिवेशन हलले सात सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ। अध्यक्ष मण्डलमा केपी ओली, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र स्थायी कमिटि सदस्यहरु रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायाण मण्डल र छविलाल विश्वकर्मा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*