तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै विप्लवद्धारा देउवालाई ज्ञापनपत्र
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले सात महिनाअघि सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ।
लामो समय बिसिक्दा पनि सहमतिले पूर्ण कार्यान्वयनको रुप लिन नसकेको भन्दै विप्लवले प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएर तीन बुँदे सहमति अविलम्ब कार्यान्वयनका लागि जोडदार माग गरेका हुन्।
गत फागुन २१ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा आएका थिए। तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने, बन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने र विप्लवले शान्तिपूर्ण रूपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने उल्लेख थियो।
विप्लवले आफ्नो पार्टी सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको पनि बताएका छन्। विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्न एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा राखिएको विप्लवको भनाइ छ।
देउवा प्रधानमन्त्री बन्नेबित्तिकै आफूले तीन बुँदै सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको विप्लवले स्मरण गरेका छन्। तर तीन महिना बितिसक्दा पनि सहमति कार्यान्वयनमा प्रगति नआउनुले आफूहरुलाई सशंकित बनाएको विप्लवले बताएका छन् ।
आफूहरुको माग पूरा नहुनु नेपालको राजनीतिक आन्दोलन र नेपाली जनताका निम्ति धोका भएको विप्लवले उल्लेख गरेका छन्। वार्ता र तीन बुँदे सहमतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा पारेको सकारात्मक प्रभाव र जनअपेक्षामाथि तुसारापात भएको ठहर पनि विप्लवले गरेका छन्।
























