विवादमा प्रधानन्यायाधीश राणा, राजीनामा माग

काठमाडौँ – प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले मन्त्रिपरिषदमा भागबण्डा खोजेको आरोपसहित समाचार बाहिरिएपछि उनी विवादको भुमरीमा परेका छन्।

राणाको उक्त कमदको विरोध गर्दै सर्वोच्चभित्रै र बाहिरबाट उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ। सर्वोच्चका न्यायाधीशहरु समेत राणासँग जोडिएर आएको उक्त समाचारप्रति चिन्ता जनाउँदै छटपटिएका छन्।

एक न्यायाधीशका अनुसार अनौपचारिक रुपमा राणालाई भेटेर समाचारको सत्यताबारे जानकारी माग्ने र सत्यता भए नैतिकता प्रर्दशन गर्न आग्रह गर्ने तयारी भएकाे छ । ती न्यायाधीशले देश सञ्चारसँग भने, ‘यो विषय अदालतको प्रतिष्ठा र संस्थाको निष्पक्षतासँग प्रत्यक्ष सरोकार राख्छ। प्रधानन्यायाधीशले प्रष्ट पार्नैपर्छ।’

प्रधानन्यायाधीश राणाको कार्यशैलीप्रति सर्वोच्चका अरु न्यायाधीशहरु संगठित रुपमै असन्तुष्ट हुँदै आएका छन्।

समाचारको विषयलाई लिएर सर्वोच्च बार एशोसियशनले प्रधानन्यायाधीश राणाको ध्यानाकर्षण गराएको छ। मंगलबार आकस्मिक रुपमा इजलास बस्नुअघि राणालाई भेटेका हुन्।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा गएको टोलीले समाचारको सत्याबारे प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको सहभागी एक कानुन व्यवसायी विकास भट्टराईलेले जानकारी दिए। शाक्यले राणा समक्ष राखेको भनाइ उद्धृत गर्दै  सर्वोच्च बारका कार्यसमिति सदस्य विकास भट्टराईले भने, ‘सञ्चार माध्यममा तपाईंले समेत भागबण्डा खोजेको कुरा आयो। यो गम्भीर विषय हो यसको सत्यता के हो? यदि होइन भने तुरुन्तै खण्डन हुनुपर्छ।’

जवाफमा राणाले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा प्रतिबद्ध रहेको र मन्त्रिपरिषदमा भागबण्डा खोज्नेको कुरा आधार हिन रहेको बताए। राणाले बारका प्रतिनिधिन समक्ष भने, ‘यो विषयले म गम्भीर छु। स्वतन्त्र न्यायापालिकाको पक्षमा प्रतिबद्ध छु। हामीले मन्त्रिपरिषदमा भागबण्डा खोज्ने कुरै हुँदैन। यसलाई विज्ञप्तिमार्फत खण्डन गर्न लगाउँछु।’

भेटमा राणाले सर्वोच्चमा राजनीतिक मुद्दा बढी आउँदा आफूहरु समस्यामा परेको गुनासो गरेका थिए। ‘पहिलो देउवाजी, प्रचण्ड, माधवजीहरु आउनुभो, अहिले ओलीजी आउनुभएको छ। साना ठूला सबै मुद्दा लिएर अदालत आउँदा जनताका मुद्दा ओझेलमा परेका छन्। राजनीतिक मुद्दाको सुनुवाई गर्दैमा समय जाने गरेको छ, राणाले भने।

राणाले भागबण्डा खोजेको विषयप्रति समाजका प्रतिष्ठित व्यक्तिहरुले पनि चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनीहरुले न्यायालयको गरिमा बचाउनका लागि राणाले छिटो यो विषयमा बोल्नुपर्ने सुझाव दिएका छन्।

प्राध्यापक कृष्ण पोखरेलले ट्वीटरमा लेखेका छन्, ‘यदि मन्त्रिमण्डलमा प्रधानन्याधीशले भाग खोजेको भन्ने आजको कान्तिपुरको समाचारमा पित्को पनि सत्यता छ भने संसारमै सबैभन्दा गएगुज्रेको मान्छेको हातमा न्यायपालिकाको नेतृत्व पुगेको रै छ भन्ने प्रमाणित हुनेभो, अधोपतनको पराकाष्ठा।’

यस्तै नागरिक समाजका अगुवाले देवेन्द्रराज पाण्डेले पनि भनेका छन्, ‘यस्तो हेरेर, सुनेर कसरी बस्छौ, चोलेन्द्रजी? समाचार तुरन्त खन्डन गरन हो। हिजोदेखि पर्खिराछु, तपाईंको भनाइ थाहा पाउँ?’

देश सञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*