हेटौंडाको दुग्ध पाउडर प्लान्ट निर्माणको काम पुन सुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१०, न्युरेनीमा निर्माण गर्न लागिएको दुग्ध पाउडर प्लान्ट निर्माणको काम पुन सुरु भएको छ । प्लान्ट निर्माण गर्ने कम्पाउन्डभित्र पशुदाना कारखानाको पुरानो भवन भत्काउन नसक्दा कामै रोकिएको थियो । २०७७ साल फागुन महिना देखि निर्माणको काम अबरुद्ध भएपनि अहिले भने पुन सुरु भएको हो ।

बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सकारी मन्त्री चन्द्र लामा र मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेको बिशेष पहलमा अबरुद्ध रहेको काम फेरी सुरु भएको हो । शिलान्यास गरेपछी प्लान्ट निर्माढा गर्ने स्थान वरीपरी पर्खाल मात्र निर्माण गरिएको थियो । पछी पुरानो जिर्ण भवन नभत्काउँदा रोकीएको काम सुरु भएको हो ।

प्रदेशको दुग्ध विकास बोर्डले दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट भवन निर्माणका लागि पहिलेको जिर्ण भवन भत्काउन सुरु गरेको र अब भने भवन निर्माणको काम पनि सुरु गर्ने सचिब पाण्डेले वताउनुभयो । संघीय सरकारको निर्णयानुसार डीडीसीले चलाइरहेको पशुदाना कारखानाभित्र प्लान्ट स्थापना जारी राखिएको हो । डीडीसीले लिएको ८ बिगाहामध्ये २ बिघामा प्लान्ट स्थापना गर्ने गरी बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

संघीय कृषि मन्त्रालयमातहत रहेको जग्गा डीडीसीले २५ वर्षका लागि लिजमा लिएको थियो । त्यसमध्ये २ बिघा बोर्डले लिने निर्णय भए अनुसार निर्माणको काम भइरहेको छ । उक्त भवन आउँदो असार भित्रमा निर्माणको काम सक्ने निर्माण कम्पनिले जनाएको छ । करिब डेढ वर्षभित्र निर्माणसम्पन्न गरी पाउडर दूध प्लान्ट सञ्चालन गर्ने लक्ष्य रहे पनि निर्माणमा समस्या भएपछी काम रोकिएको थियो । प्लान्ट स्थापनाका लागि पशुपक्षी तथा मत्स्य विकास केन्द्र हेटौडाले डीपीआर गरेको थियो ।

पाउडर दूध उद्योगको पहिलो चरणमा कम्पाउण्ड लगाउने काम सकिएको दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लब सापकोटाले जानकारी दिनुभयो । पाउडर दूधसंगै घिउ उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौंडा उपमहानगरपालिका–१०, न्युरेनीमा पाउडर प्लान्ट र सोका लागि भवन निर्माण थालिएको हो । प्लान्टले प्रदेशसँगै चार प्रदेशका किसानले उत्पादन गरेको दूध पाउडर बनाउन सहज हुनेछ । मन्त्रालयका अनुसार धुलो दूध उत्पादन गर्ने कार्य प्रारम्भ भएपछि करिब ८० जनाले रोजगारी पाउनेछन् ।

उत्पादित धुलो दूध प्याकिङ दैनिक ५ मेट्रिकटन सात वटै प्रदेशका स्थानीय बजार, होटल र सर्वसाधारण उपभोक्तालाई सहजढंगबाट वितरण गर्ने कार्यतालिकासहित यातायातको सुविधा उपलब्ध गराइने बोर्डका प्रमुख डाक्टर रामप्रकास प्रधानले वताउनुभयो ।
प्लान्टबाट प्रदेश–२ का बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरिद गरी दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको उहाँले वताउनुभयो ।

पाउडर प्लान्टका लागि महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट दूध आयात गरिनेछ । तर बागमती प्रदेशका जिल्लामा उत्पादन भएको दुधलाई पहिलो प्राथमिकता दिइने प्रधानले वताउनुभयो । चालु आर्थिक वर्ष २०७७–०७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौं इजी इन्फा प्रालिले एक वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी काम थालेको थियो । प्लान्टको ४१ करोड २२ लाख ७१ हजारमा निर्माणसम्पन्न गर्ने सम्झौता भएको छ ।

हेटौंडास्थित पशुआहार उत्पादन विकास समितिले भोगचलन गरेका सम्पूर्ण चलअचल सम्पत्ति, स्रेस्ता एवम् कागजात दुग्ध विकास संस्थानलाई हस्तान्तरण गरिएको थियो । करिब एक दशकदेखि घाटामा सञ्चालन हुँदै आएका कारण मन्त्रिपरिषद् निर्णयअनुसार समिति बिघटन गरी २५ वर्षका लागि संस्थानलाई हस्तान्तरण गरिएको हो ।

वार्षिक कम्तिमा ६१ लाख रुपियाँ नोक्सानी बेहोर्दै आएको उद्योगलाई २०६१ सालदेखि विकास समितिमा परिणत गरिएको थियो । उद्योगमा १९ जना स्थायी, सात जना दैनिक ज्यालादारीमा र एकजना अस्थायीरुपमा कार्यरत् थिए । २०२२ सालमा सरकारले पहिलोपटक क्याटल फिड प्लान्टका नाममा उद्योग सुरु गरेको थियो । प्रतिघण्टा दुई मेट्रिक टन दाना उत्पादन गर्ने उद्योगबाट पछिल्लो समय दैनिक सात मेट्रिक टनमात्र उत्पादन हुने गरेको थियो ।

उत्पादनका मेसिन निकै पुरानो भएको र उधारो उठ्न नसकेपछि सरकारले बाध्य भएर समिति बिघटन गरेको हो । करिब सात बिगाहा क्षेत्रमा फैलिएको उद्योगले उत्पादन गरेको पशुआहार छिमेकी जिल्ला बारा, पर्सा, चितवनसहित इलाम, बनेपा र काठमाडौंसम्म लोकप्रिय थियो ।

जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*