दसैँभर सवारी दुर्घटनामा परी मकवानपुरमा पाँच जनाको मृत्यु

हेटौंडा – मकवानपुरको विभिन्न स्थानमा दसैंको समयमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । यही असोज २१ देखि ३० गतेसम्म भएको १४ वटा सवारी दुर्घटनामा परी जिल्लामा ५ जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर र ३५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार सुमो (जिप)–मोटरसाइलक दुर्घटनामा दुई–दुई जना र धान काट्ने मेसिन दुर्घटना हुँदा एक जना गरी पाँच जनाको मृत्यु भएको हो । यही २७ गते बुधबार दिउँसो पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ०२–०३–००१ त १०३ नंबरको धान काट्ने मेसिन हेटौंडा–९ पशुपतिनगरमा पल्टिँदा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नंबर ४ का अन्दाजी ५० वर्षीय रुस्तम अन्सारीको मृत्यु भएको थियो ।

त्यसपछि शुक्रबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातमाटेमा नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारमा हेटौंडा–१५ पनेस बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ बर्षीय सुशान्त दियालीको मृत्यु भएको थियो ।

त्यस्तै हेटौडा–कुलेखानी–काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा शनिबार दिउँसो काठमाडाँैबाट हेटौडा आउँदै गरेको ना १ ज ४५११ न को सुमो ९जीप० अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौँ–१६ गोदाबारी बस्ने ६२ वर्षीय विष्णु बहादुर श्रेष्ठ र पर्सा पोखरिया–७ गोबिन्दपुर बस्ने अन्दाजी ४५ वर्षीय रामसनही रामको मृत्यु भएको थियो ।

चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ । साथै दसैँका समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण, सडक साँघुरा र खाल्डाखुल्डी पनि दुर्घटना हुने गरेको ट्राफिक प्रहरीहरुको भनाई छ ।

ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढी दुई पांग्रे सवारी १२ वटा दुर्घटना भएको छ । त्यस्तै चार र तिन पांग्रे ८ वटा, ठुलो सवारी ३ वटा गरी दुर्घटनामा २३ वटा सवारी संलग्न रहेको छन् । अघिल्लो दशैंको अवधिमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*