विद्यार्थीलाई कुटपिट गर्ने सिद्धार्थ शिशु सदनका शिक्षक पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ५ स्थित सिद्धार्थ शिशु सदन माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षक केशव दाहाललाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । स्वास्थ्य शिक्षा विषयको अध्यापन गराउने शिक्षक दाहालले कक्षाकोठामा चकचक गरेको भन्दै सोही विद्यालयमा अध्ययरत १२ बर्षका अभिनव अधिकारीलाई १५ दिन अघि निर्घात कुटपिट गरेका थिए । कुटपिटका कारण अभिनवको शरिरको विभिन्न भागमा चोटपटक लागेको उनका बुवा भवनाथ अधिकारीले जानकारी दिएका छन् ।
निर्घात कुटपिट गर्ने शिक्षक दाहालले माफि माग्नुपर्ने भन्दै अभिनवका अभिभावकले विद्यालयसमक्ष अनुरोध गरेका थिए । अभिनवको आमा लक्ष्मी अधिकारी सोही विद्यालयको मन्टेश्वरी कक्षामा अध्यापन गर्दै आएकी थिइन् । तर, घटनालाई ढाकछोप गर्ने उदेश्यले विद्यालयले उनलाई जागिरबाटसमेत हटाएको पीडित पक्षको गुनासो रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरिक्षक देवेन्द्र दासले पक्राउ परेका शिक्षकमाथि कुन विषयमा मुद्धा चलाउने भन्ने विषयमा छलफल भइरहेको र पीडित पक्षको किटानी जाहेरीको आधारमा मुद्धा चलाइने जानकारी दिएका छन् । विद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीले पीडित पक्षसंग छलफल भइरहेको र घटनालाई कसरी निकाश दिने भन्ने सन्दर्भमा आफु लागिरहेको बताए । शिक्षक दाहालले भने आफुले विद्यार्थीलाई निर्घात नभई सामान्य सजायँ स्वरुप ढाडमा पिटेको स्वीकार गरेका छन् ।
























