मकवानपुरको भीमफेदीमा बौलाहा कुकुरको टोकाईबाट १३ जना घाईते
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा पछिल्लो २ दिनमा एक बौलाहा कुकुरले आतंक मच्चाएको छ।
गाउँपालिको वडा नंबर ५ र ६ को सुपिङ,माथिल्लो ज्यामिरे तथा तल्लो ज्यामिरे लगाएत क्षेत्रहरुमा पछिल्लो २ दिनमा बौलाहा कुकुरको टोकाईबाट १३ जना घाईते भएको भीमफेदी गाउँपालिकाका स्वास्थय संयोजक राम नाम थिङ्गले जानकारी दिए ।
उनका अनुसार बुधबार र बिहिबार उक्त स्थानहरुममा घरमा बसेका,बाटोमा हिडेकाहरुलाई बौलाहा कुकुरले टोकेको हो ।
बौलाहा कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र,भीमफेदी ल्याईएको र २ जनालाई हेटौंडा र एकजनालाई काठमाण्डौ रिफर गरिएको स्वास्थ्य संयोजक थिङ्गले बताए ।
उनका अनुसार उक्त बौलाहा कुकुर हालसम्म नियन्त्रणमा आएको छैन । उनले गाउँपालिकाले जिल्ला प्रशासन कार्यलय मकवानपुरलाई घटनाको जानकारी गराईसकेको र प्रहरीले नियन्त्रणमा लिनको लागि खोजि गरिरहेको समेत बताए ।
























