‘सडकबाट मागे भन्दैमा म राजीनामा दिन्नँ’ – प्रधानन्यायाधीश

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सहकर्मी न्यायाधीशहरुसँग आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

अघोषित रुपमा इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका सर्वोच्चका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा दिन आग्रह गरेका हुन् ।

तर जवाफमा प्रधानन्यायाधीश राणाले सडकबाट राजीनामा माग्दैमा आफूले पद नछोड्ने स्पष्ट पारेका हुन् ।

स्रोतले भन्यो, ‘न्यायाधीशहरुले तपाईँका विषयमा धेरै प्रश्न आयो । विवाद झन फैलिने भयो । राजीनामा दिनुस् भन्नुभयो । जवाफमा प्रधानन्यायाधीशले सडकबाट राजीनामाको माग आउँदैमा आफूले नदिने बताउनु भयो ।’

प्रधानन्यायाधीश राणाले ‘तपाईँहरुले गरेका आदेश–फैसलालाई लिएर पनि विवाद भएको छ । सो विवादित फैसलामा सामेल तपाईँहरुले पनि राजीनामा दिने भए म पनि दिन्छु । होइन भने सडकबाट मागे भन्दै मैले राजीनामा दिन्नँ’ भनेको स्रोतले जानकारी दिएको छ ।

प्रधानन्यायाधीश राणाले आफ्नो संवैधानिक जिम्मेवारी रहेको र सो जिम्मेवारी पूरा गर्ने, राजीनामा नदिने जवाफ दिएपछि सर्वोच्चका न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबण्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*