प्रधानन्यायाधीशको राजीनामाबारे एमालेले पक्षधरता नलिने ओलीको भनाई

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशले राजिनामा दिनुपर्ने या नपर्ने कुरामा एमालेले पक्षधरता नलिने स्पष्ट पार्नुभएको छ ।

मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले एमाले निष्पक्ष र स्वतन्त्र न्यायपालिकाको पक्षधर भएको र विगतमा संवैधानिक इजलास गठनका कुरादेखि वकिलले न्यायाधीश छान्ने कार्यले निष्पक्ष न्यायपालिकामाथि प्रश्नचिन्ह उठेको बताउनुभयो ।

फरक प्रसंगमा अध्यक्ष ओलीले राज्यका निकायहरुलाई बदनाम गरेर व्यवस्थामाथि नै प्रहार गर्ने कार्य भइरहेको पनि बताउनुभयो । उहाँले व्यवस्था माथि प्रक्रियागत ढंगले प्रहार गर्ने कार्यलाई निरुत्साहित गर्न एमाले र सचेत जनता काफी रहेको बताउदै व्यवस्था परिवर्तनको कुरा स्वीकार्य नहुने र यसलाई सफल हुन नदिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले सभामुखले कार्यकर्ता जस्तो व्यवहार गरेका कारण संसदमा गतिरोध देखिएको तथा संविधान, कानुन र प्रतिनिधि सभा नियमावली अनुसार संसद चलाउन सभामुखलाई आग्रह गर्नुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रलाई मिलेर जान चीनले भनेको बारे आफुलाई जानकारी नभएको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*