आज छठ पर्वको मुख्य दिन – हेटौंडाको राप्तीतटमा छायो छठको रौनक
हेटौंडा । हेटौंडाको रापती तटमा छठ पर्वको रौनकता छाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ राप्ती तटमा छठ पर्वको रौनक छाएको हो । छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिन्छ । अहिले मकवानपुरमा तराइ र पहाडी मुलका नागरिक मिलेर छटपर्ब मनाउने गरेका छन् । पहिले हेटौंडामा तराइ मुलका नागरिकले मात्र छटको पुजा गरेपनि अहिले भने पहाडी मुलका नागरिकले पनि छटपुजा मनाउन थालेका हुन् ।
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाइ व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीमा कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले बताउनुभयो । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । पहिले तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेकामा विगतका वर्षमा काटिएकामा यस वर्षदेखि फेरि बिदा दिइएको छ ।
छठ पर्वका लागि तराईका विभिन्न नदी, खोला, पोखरी र जलाशयहरु झकिझकाउ बनाइएको छ । काठमाण्डौको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।
























