विप्लवको नेपाल बन्द – मकवानपुरमा सार्वजनिक सवारी बन्द

हेटौंडा । पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्‍य वृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा गरेको नेपाल बन्दले मकवानपुरको जनजिवन प्रभावित भएको छ ।

मंगलबार बिहानैबाट जिल्ला भित्र चल्ने र लामो दूरीको सार्वजनिक यातायातहरु बन्द हुँदा यात्रामा हिडेका यात्रुहरु समस्यामा परेका छन् । बन्दको कारण पूर्वी मकवानपुर,उत्तरी मकवानपुर,हेटौंडा उपमहानगर भित्र चल्ने सार्वजनिक सवारी बन्द रहेको छ ।
बन्द भएपनि हेटौंडा बजार भित्र साना सवारी अटो,मयुरी,म्याजिक,मोटरसाईकल लगाएत सवारी साधनको भने चहलपहल देख्न सकिन्छ । अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने निर्वाध गुडिरहेका छन् ।

विप्लवले आह्वान गरेको नेपाल बन्दको सामाजिक संजालमा केहिले समर्थन र केहिले विरोध गरेका छन् । अधिकाशंले भने बन्दको समर्थन गरेका छन् ।

देशमा मनोमानि ढङ्गले मूल्य वृद्धि भईरहेको समयमा विप्लव नेतृत्वले नेकपाले नेपाल बन्‍दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

मंगलबार बिहान ९ बजेसम्म बन्दको कारण हालसम्म कुनैपनि अप्रिय घटना नघटेको र कुनैपनि शंकास्पद वस्तु नभेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*