सर्वोच्चमा आज पनि प्रहरी र कानुन व्यवसायीबीच झडप, सुरक्षा व्यवस्था कडा
काठमाडौं । सर्वोच्च अदालत परिसरमा आज शुक्रबार पनि प्रहरी र कानुन व्यवसायीहरुबीच झडप भएको छ। बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित आधा दर्जन कानुन व्यवसायी घाइते भएका थिए। बारले प्रहरी दमनको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिइरहँदा आज थप सुरक्षाकर्मी परिचालित भएका छन्।
‘आजको बर्बरतापूर्ण आक्रमणको अनुसन्धान र आगामी कार्यक्रममा अनुगमन गर्न हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै मानव अधिकारसम्बन्धी संघसंस्थालाई आह्वान गर्दछौँ । साथै, भोलिदेखि नै अदालत परिसरबाट दंगा प्रहरी हटाउन गृह प्रशासन र अदालत प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ बारले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ। आज धर्नास्थलमा चेकजाँच र सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ।
बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामाका लागि आज ३ बजेसम्मको अल्टिमेटम दिँदै राजीनामा नआए चौथो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ।
























