गठबन्धनमा भागबन्डा मिलाउन बागमती प्रदेशमा संसदीय समिति थप्ने तयारी
मकवानपुर — वाग्मती प्रदेश सरकारले गठबन्धनमा भागबन्डा मिलाउन मन्त्रालय विभाजन र संसदीय समिति पनि थप्ने तयारी गरेको छ । गठबन्धनमा रहेका सबै दललाई भाग पुर्याउन मन्त्रालय विभाजनको कसरत गरिरहेको प्रदेश सरकारले संसदीय समितिसमेत थप्ने तयारी गरेको हो ।
संसदीय समिति थप्ने विषयमा विपक्षी दल नेकपा एमाले पनि सहमत रहेको सत्तापक्षको दाबी छ । हाल सत्तामा रहेको माओवादी केन्द्र, कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीले पूर्वमुख्यमन्त्री डोरमणि पौडेलद्वारा संसदीय समितिको संख्या बढाउने तयारी गर्दा विरोध गरे पनि अहिले भागबन्डा मिलाउने नाममा सोही बाटोतर्फ अग्रसर भइरहेका छन् ।
हाल प्रदेशसभामा ५ संसदीय समिति रहेकोमा अझै ५ वटाभन्दा बढी संसदीय समिति थप्ने सरकारको तयारी छ । मन्त्रालय विभाजन गरेर मात्र भागबन्डा नपुग्ने भएपछि समिति थपेर गठबन्धनका सांसदलाई व्यवस्थापन गर्न लागिएको सत्तापक्ष स्रोतले जनाएको छ । ‘सत्तापक्षमा मन्त्री बन्नका लागि व्यापक दौडधुप चलिरहेको छ ।
मन्त्रालय विभाजन भएपश्चात् संसदीय समितिको आवश्यकता देखाएर विस्तार गर्ने तयारी भइरहेको छ,’ सत्तापक्षका एक सांसदले भने । ती सांसदका अनुसार समिति थप्दा विपक्षीलाई पनि खुसी बनाउने गरी बाँडफाँट गर्ने तयारी भइरहेको छ । अहिले भएका ८ मन्त्रालय टुक्र्याएर ११ पुर्याउने र त्यत्तिकै संख्यामा संसदीय समिति पनि बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ । इकान्तिपुरबाट ।
























