मकवानपुरका ठकुरीद्वारा एमाले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा

हेटौंडा । चितवनमा मंसिर १०-१२ गते हुने नेकपा एमालेको १० औं महाधिवेशनमा सुवाष चन्द्र ठकुरीले मकवानपुरबाट खुल्ला तर्फको केन्द्रीय सदस्य पदको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बागमती प्रदेश कमिटीका सदस्य समेत रहेका ठकुरीले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी बलियो रहको बताउँदै प्रचार प्रसारको तयारीमा जुटेका छन् ।

भूमिगत विद्यार्थी राजनीतिबाट कृयाशील ठकुरी वि.सं.२०४९ सालदेखि लगातार १० वर्ष तत्कालीन सिस्नेरी गाविस अध्यक्ष हुँदै २०७० को संविधान सभा निर्वाचनमा नेकपा माओबादी केन्द्रका केन्द्रीय नेता नारायण काजी श्रेष्ठ र नेपाली काङ्ग्रेसका बलियो उम्मेद्वार जयराम लामिछानेलाई पराजित गर्दै संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

संविधान सभा सदस्य ठकुरीले तत्कालिन आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध संसदीय उपसमितिको संयोजकको जिम्मेवारी समेत निर्वाह गरेका थिए । गाविस अध्यक्ष हुँदानै ठकुरी तत्कालिन जिल्ला विकास समिति लेखा समितिको अध्यक्ष समेत रहिसकेका छन् ।

नेकपा एमाले मकवानपुरको राजनीतिमा जिल्ला कमिटी सदस्य हुँदै पटक पटक क्षेत्र नंबर २ को ईन्चार्ज, जिल्ला कमिटी उपाध्यक्ष, पार्टी केन्द्रीय विभाग सदस्यको जिम्मेवारी सम्हाल्दै प्रदेश कमिटीको सदस्यको जिम्मेवारी समेत कुशलताका साथ निर्वाह गरिरहेकोले पनि आफ्नो उम्मेदवारी बलियो रहेको ठकुरीले बताए ।

कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक निर्माणको अगुवाई गरि हेटौंडा-काठमाडौंलाई छोटो मार्ग बनाउने अभियानका अभियान्ता समेत रहेका ठकुरी हाल पनि विभिन्न भौतिक पूर्वाधार विकासको अभियानमा रहेका छन् । ठकुरी लामो समयदेखि विभिन्न बहानामा निर्माण अलपत्र रहेको चित्लाङ-चन्द्रागिरी-थानकोट सडक निर्माणमा जनदबाब सिर्जना गराउदै अगुवाई गरिरहेका छन् ।

ठकुरीलाई उत्तरी मकवानपुरका साझा उम्मेदवारको रुपमा प्रस्तुत गरि निर्वाचित गराउन प्रचारप्रसार समिति तथा सचिवालय समेत निर्माण गरिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*