एमाले महाधिवेशन – २ घण्टा पर सारियो बन्दसत्र

चितवन –  नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र कार्यक्रम २ घण्टा धकेलिएको छ।

शनिरबार बिहान १० बजे सुरु गर्ने भनिएको बन्दसत्र आन्तरिक तयारी नपुगेको भन्दै २ घण्टा पर सारिएको हो।

बन्दसत्र सुरु हुनुअघि सर्वसम्मत जुटाउन ओलीको प्रयास जारी

चितवनमा शुक्रबारदेखि जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनको प्रक्रिया केही समयमा (बन्दसत्र) सुरु गरिँदै छ।

अब बन्ने केन्द्रीय कमिटीसहित पार्टीका सबै संरचनामा सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा आलीले भगीरथ प्रयत्न गरिरहेका छन्। अहिले पनि उनी शीर्ष तहका नेताहरूसँग छलफल गरिरहेका छन्।

यसअघि मध्यराति बसेको एमालेको साविक केन्द्रीय कमिटीको बैठकबाट उनले सर्वसम्मती गराउन पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म विस्तार गर्दै विधान संशोधन प्रस्ताव पारित गराएका छन्। तर त्यो प्रस्ताव आज हुने बन्दसत्रले अनुमोदन गर्यो भने मात्र कार्यान्वयन हुनेछ।

नयाँ प्रस्तावअनुसार साविक विधानबमोजिम पदाधिकारी संख्या १५ बाट बढाएर १९ पुर्‍याइएको छ। २र२ जना उपमहासचिव र उपाध्यक्ष थपिएको हो।

आफ्नै समूहका नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि अध्यक्ष केपी शर्मा ओलीले सबै समेट्ने प्रयासअनुरूप पदाधिकारी थप्ने निर्णय गराएका हुन्।

त्यस्तै शुक्रबार मध्यरातिको बैठकले केन्द्रीय कमिटी पनि २२५ सदस्यीयबाट ३०१ सदस्यीय बनाउने तथा पोलिटब्युरो कमिटी पनि ब्युँताउने निर्णय गरेको छ।

पोलिटब्युरोमा ९९ जना सदस्य रहनेछन् भने ४५ स्थायी स्थायी कमिटी यसअघि नै छ।

बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

तर ओली आफैंलाई पुनः अध्यक्षमा सर्वसम्मत हुन चुनौती छ।

कारण महाधिवेशन उद्घाटनअघि नै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका उपाध्यक्ष भीम रावलले शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप्दै सर्वसम्मत जुटाउने निर्णय गरिसक्दा पनि अडान छाडेका छैनन्।

उनी आज अध्यक्ष पदमा उम्मेदवारी दिने बताइरहेका छन्।

यसैले बिहानै सुरु हुने भनिएको बन्दसत्र यो खबर लेख्दासम्म सुरु हुन सकेको छैन।

अहिले ओली सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुटाउन शीर्ष तहका नेताहरूसँग छलफल गरिरहेका छन्।

स्रोतका अनुसार ओलीले आफू अध्यक्ष, ईश्वर पोखरेल र सुवास नेम्वाङमध्ये एक जना वरिष्ठ उपाध्यक्ष, विष्णु पौडेल र शंकर पोखरेलमध्ये एक जना महासचिव बनाउने तयारी छ। यी सबै आफू पक्षकै नेता भएकाले ओलीलाई पदाधिकारी व्यवस्थापन गर्न गाह्रो भइरहेको हो।

यस्तै माओवादी केन्द्रबाट गएका रामबहादुर थापा बादल समूहकाले पनि ४ पदाधिकारी दाबी गरेको छ। तर पाउने सम्भावना नरहेको स्रोतले जनाएको छ। ​

नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*