नयाँ भेरियेन्ट, ‘ओमिक्रोन’ डेल्टाभन्दा हल्का किसिमको

काठमाडौं । दक्षिण अफ्रिकी डाक्टरहरुले कोरोना भाइरसको नयाँ भेरियेन्ट, ‘ओमिक्रोन’ को असर अहिले विश्वभर व्याप्त डेल्टा भेरियेन्ट भन्दा ‘माइल्ड’ अर्थात् हल्का किसिमको भएको बताइरहेका छन् । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियेन्टबारे अहिले नै कुनै निष्कर्ष निकाल्न नसकिने बताइरहे पनि विज्ञहरु यसबारे निरन्तर अध्ययन गरिरहेका छन् ।

‘साउथ अफ्रिकन मेडिकल असोसिएसन’ की प्रमुख डाक्टर एन्जेलिक कोएटजी यो भेरियेन्टको उत्पत्ति पत्ता लगाउने पहिलो व्यक्ति हुन् । र यसमा उनले पनि आफ्ना बिरामीहरुमा सामान्यतया डेल्टाबाट संक्रमित हुँदाको भन्दा फरक लक्षणहरु रहेको महसुस गरेकी थिइन् । उनले एएफपीसँग भनेकी छन्, “यसमा उनीहरु अत्याधिक थकानका कारण अस्पतालसम्म आउनु परेको थियो । साथै अधिकांश बिरामीमा मांसपेसी दुख्ने, घाँटी चिलाउने र सुख्खा खोकी बढी देखियो । ”

दक्षिण अफ्रिकाको सल्लाहकार समितिमा आबद्ध डाक्टर कोएट्जीले ‘ओमिक्रोन’ संक्रमण डेल्टा भेरियेन्टसँग क्लिनिकल रुपमा मेल नखाने भनेर स्वास्थ्यकर्मीहरुलाई नोभेम्बर १८ मै सचेत गराएकी थिइन् । त्यसबेलाका १८ कोभिड बिरामीले तुलनात्मक रुपमा फरक लक्षण देखाएका थिए ।

उनले रोएटर्ससँग भनेकी छन्, “त्यो चरणमा ती लक्षणहरु फरक तर साधारण भाइरल संक्रमणकै थिए । र हामीले विगत आठ दश हप्तादेखि कोभिड १९ बारे केही नयाँ खोज नगरेको हुँदा यसबारे परीक्षण गरिहाल्ने निर्णय लियौँ ।

हामीले तेस्रो लहरका बेलामा डेल्टा भेरियेन्टबाट संक्रमित धेरै बिरामी देख्यौँ । तर अहिलेका संक्रमित क्लिनिकल रुपमा डेल्टा जस्तो पटक्कै थिएनन् । यसमा सबै लक्षणहरु एकदमै हलुका किसिमको थियो । कसैलाई पनि आइसीयुमा भर्ना गर्नुपर्ने खालको थिएन । ”

उनका अनुसार डेल्टा जसरी मानिसहरुमा स्वाद या गन्ध थाहा नपाउने पनि भइरहेको थिएन । त्यस्तै अक्सिजनको स्तरमा ठूलो गिरावट पनि देखिएन । र यी सबै लक्षण नयाँ भेरियेन्टसँगै जोडिन पुग्यो । त्यसैले प्रायः बिरामीहरु घरमै बसेर ठीक हुन योग्य ठहरिए ।

साथै यसमा उनले उपचार गरेकाहरुमा ओमिक्रोनको लक्षण भएका ५० प्रतिशत बिरामीले कोभिड खोप लगाएका थिएनन् ।

यसअघि दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका डाक्टर उन्बेन पिलले बिरामीहरुले रिपोर्ट गरे अनुसार ओमिक्रोनका लक्षणहरु सूचीकृत गराएका हुन् ।

उनले भनेका छन्, “हामीले अधिकतम बिरामीमा सुख्खा खोकी, ज्वरो, राति पसिना आउने र शरीर एकदमै धेरे दुख्ने जस्ता लक्षण देख्यौँ । र खोप लगाएका बिरामीहरु यसमा तुलनात्मक रुपमा राम्रो अवस्थामा हुने गरेका छन् । ”

अर्का भाइरसविद् सलिम अब्दुलले चाहिँ यो भेरियेन्ट एकदम छिटो फैलन सक्ने हुँदा बिरामीहरु छिटै बढ्ने बताए । यसको प्रमाण आफूहरुले देख्न थालिसकेको पनि उनले बताए ।

दिल्लीको स्वास्थ्य निकायहरुले पनि एक पत्रिका दैनिकसँगको रिपोर्टमा नयाँ भेरियेन्ट देखा परिरहेको क्षेत्रमा अस्पताल भर्ना हुनेको दर एकदम कम रहेको बताएका थिए । त्यस्तै विश्वव्यापी रुपमा यो भेरियेन्टका कारण मृत्यु भएको पनि कुनै रेकर्ड छैन ।
अहिलेका लागि यसले एकदम हलुका असर गर्ने, धेरै थकान पैदा गर्ने र घाँटीमा समस्या ल्याउने जस्ता लक्षण देखाइरहेको बताइएको छ । इन्डिपेन्डेन्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*