मुख्यमन्त्री पाण्डेले भने – ‘भविष्य हेरेरै सरकारले मन्त्रालयको संख्या थपेको हो’

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालयको संख्या बढाएको निर्णयमा आलोचना गर्ने बेला नभएको बताएका छन् । केही दिनअघि प्रदेशका ८ वटा मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री पाण्डेले १४ पुर्‍याएपछि आलोचना हुँदै आएको छ ।

‘हामी केही महिनामा नै मन्त्रालयको संख्या बढाएको निर्णय प्रभावकारी रहेछ है भन्ने सन्देश दिने गरी काम गर्दैछौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले भागबण्डाका लागि हैन, भविष्य हेरेरै सरकारले मन्त्रालयको संख्या थपेको हो ।’

उनले मन्त्रालयको संख्या थपिएकोमा अरुले नभै मिडियाले विरोध गरेको बताए । ‘हामी वन, उद्योग, सहकारीजस्ता मन्त्रालय मार्फत केहि अवधिमा नै चमत्कारिक काम गर्दैछौं,’ पाण्डेले भने ।

रामेछापको मन्थलीमा बुधबार साँझ पत्रकार र पार्टी कार्यकर्ताका माझ भएको अन्तरक्रिया कार्यक्रममा पाण्डेले सरकारले अनुत्पादनक क्षेत्रका लागि विनियोजन गरेको बजेट रोक्का गरेको बताए । ‘पूर्वाधार नभैकन गरिने विकासको काम हुँदैन,’ पाण्डेले भने ।

प्रयाप्त चार्जिङ स्टेसन र गुणस्तरीय सडक नभै विद्युत बस सञ्चालन गर्ने योजना कार्यान्वयन गर्दा जनकपुर रेलको जस्तो दशा आइलाग्ने भएकाले प्रदेश सरकारले उक्त योजनालाई कार्यान्वयनमा नलाने निर्णय गरेको उनले बताए । ठूलो योजनामा थोरै पैसा विनियोजन गरेर स्रोतलाई होल्ड गर्नु हुँदैन भनेर सुरुङ मार्ग स्थगन गरेको पाण्डेको दाबी थियो । – इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*