यातायात क्षेत्र सुधार गर्दै बागमती प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा र सो सँग जोडिएका राजमार्गहरुको यातायात क्षेत्र सुधार तथा सडक व्यवस्थापनका लागि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पहल थाल्नु भएको छ । सोही सन्दर्भमा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा यातायात क्षेत्र सुधार तथा सडक व्यवस्थापन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सामाजिक विकास मन्त्रालयको सभाकक्षमा आयोजना गरिएको थियो ।

बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मा, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोक कुमार साह, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनीराम शर्मा, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्की, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ सहित सडक डिभिजन हेटौंडा, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, पुरानो नारायणी यातायात व्यवसायी कम्पनी प्रा।लि।, जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बागमती प्रदेश शासकिय सुधार तथा समन्वय महाशाखाका प्रमुख एवं सचिव स्किम श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट कार्यपत्र प्रस्तुतीकरण गरिएको थियो । उक्त कार्यपत्र प्रस्तुती पश्चात अन्र्तक्रिया कार्यक्रममा सहभागी हुँदै पुरानो नारायणी यातायात व्यवसायी कम्पनीका सरोज खनालले बागमती प्रदेशको राजधानी हेटौंडाको ट्राफिकलाई यथाशीघ्र व्यवस्थापन गर्नका लागि बजारको केन्द्रमा रहेको भिमफेदी बसपार्क तथा फापरबारी बसपार्कलाई व्यवस्थित गराउनु पर्ने र ट्राफिक नियम उल्लंघनका घटनालाई कसैको दबाबमा नपरी प्रशासनले समेत कार्वाही गर्नुपर्ने कुरामा जोड दिँदै बागमती प्रदेशमा गुडने सवारी साधनहरु मध्ये अधिकांश यातायात व्यवस्था कार्यालय वीरगञ्जमा दर्ता रहेको कारण बागमती प्रदेशको राजश्व समेत गुमेको र व्यवसायीहरुले समेत दुःख पाएको कारण उक्त सवारी दर्तालाई बागमती प्रदेश मातहत ल्याउनको लागि बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

यस क्षेत्रको ट्राफिक तथा सडक क्षेत्र व्यवस्थापनका लागि जिम्मेवार निकायहरुले समेत समयमा नै मर्मत सम्भार गर्न जोड दिनुपर्ने र विगतमा सञ्चालनमा रहेका तौलपुलहरुलाई अझ बढि प्रयोगमा ल्याउनुपर्ने कुरामा जोड दिनु भएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्कीले बागमती प्रदेश भित्रको ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनिकरणको लागि प्रहरीले आफ्नो सेवाको अधिकांश समयमा यस क्षेत्रमा खर्च गर्नु परेको तथापी अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको हुँदा यस विषयमा बागमती प्रदेश सरकारबाट लिइएको पहल अनुसार कार्यान्वयन तहमा लैजान नेपाल प्रहरी सदैब तत्पर रहेको कुरामा जोड दिनु भएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनीराम शर्माले ट्राफिक क्षेत्र व्यवस्थापनका लागि हेटौंडा बजार क्षेत्रमा ठुला ध्वनीका साथ बजाइने हर्नलाई नियन्त्रण गर्ने कुरामा ट्राफिक प्रहरीले कडाईका साथ लागू गर्नुपर्ने, समय निर्धारण गरी सवारी आवागमनलाई व्यवस्थित गर्नुपर्ने तथा निजी क्षेत्रको सहभागितामा रिफ्रेश सेन्टर निर्माण गरी सञ्चालन गर्नुपर्ने र हेटौंडा नारायण सडक खण्डको मकवानपुर खण्डमा भएको खाल्डाखुल्डी सम्बन्धित सडक डिभिजनले प्राथमिकता दिएर काम गर्न सकेको खण्डमा अहिले देखिएको अव्यवस्थालाई चाडै हटाउन सकिन्छ । साथै यातायात क्षेत्रका करका विषयमा देखिएको समस्यालाइ समाधान गर्न मन्त्रालय एवं प्रदेश सरकार सकरात्मक रहेको कुरा बताउनु भएको थियो ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्माले यस क्षेत्रको ट्राफिक यातायात क्षेत्र सुधार तथा सडक व्यवस्थापनका लागि पार्किङ्ग क्षेत्र निर्माण, राजमार्ग तथा शहरी क्षेत्रमा सि।सि।टि।भी। मार्फत निगरानी, मापसे नियन्त्रण, फुटपाथ व्यवस्थापन, वैकल्पिक सडकहरुको निर्माण तथा प्रयोग गर्दै हाल देखिएको अस्तव्यस्त ट्राफिक यातायात क्षेत्र सुधार तथा सडक व्यवस्थापनको लागि स्थानीय सरकारहरुले महत्वका साथ काम गर्नुपर्ने र सो कार्यमा प्रदेश सरकार सहकार्य गरेर अघि बढने कुरामा जोड दिनु भएको थियो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश राजधानी हेटौंडाको मुख्य बजार क्षेत्रमा रहेको ट्राफिक व्यवस्थापनको अस्तव्यस्ततालाई ट्राफिक नियमको कडाईको साथ पालना, राजमार्ग क्षेत्रको बिस्तार तथा क्लियरेन्स तथा प्रस्तावित चौकीटोल देखि राप्ती पुल हुँदै रातोमाटेसम्मको बाइपासलाई बजार बिच रहेको राष्ट्रिय राजमार्ग बिस्तार भए पनि नभए पनि पुरा गरी प्रयोगमा ल्याउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

राष्ट्रिय राजमार्गको मापदण्ड निर्धारण गर्ने र सो को बिस्तार गर्ने कुरा संघीय सरकारको अधिकार क्षेत्र भित्र पर्ने भएकोले सो सम्बन्धमा संघीय सरकारले निर्णय गर्नुपर्ने र यसका लागि स्थानीय बासिन्दाहरुको छलफल तथा चाहना बमोजिम नै प्रदेश सरकारले पहल गर्ने भन्नु भएको थियो । बागमती प्रदेश भित्रका सडकहरुको निर्माण तथा मर्मत कार्य तोकिएको समयमा पुरा गर्न सम्बन्धित निकायहरुले तत्काल लाग्न निर्देशन समेत दिनु भएको थियो । साथै आजको छलफल पश्चात विषयको उठान भएको छ । यस सम्बन्धमा सरोकारवाला पक्षहरुसँग समस्याका आधार छलफल गर्दै समस्या समाधान गर्ने गरी प्रदेश सरकार अघि बढने कुरामा भन्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*