हामी नेतृत्व परिवर्तनको पक्षमा छौँ – विमलेन्द्र निधि
काठमाडौँ – कांग्रेसको नयाँ सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने सभापतिका उम्मेदवार विमलेन्द्र निधिले बताएका छन्।
कांग्रेसको १४ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्नका लागि सोमबार मतदान हुँदैछ। निधिले सभापतिमा उम्मेदवारी दिएका छन्। निधिले पहिलो चरणमा कोही पनि विजयी नहुने र दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी हुने बताएका छन्।
महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानीमा निधिले सभापतिको निर्वाचन दोस्रो चरणमा धकेलिने बताएका हुन्। दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरालाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका हुन्।
कांग्रेसमा सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ र पहिलो चरणमा कसैले पनि सो आँकडा पूरा गर्न नसक्ने निधिले दाबी गरेका हुन्।
निधिले भने, ‘दोस्रो चरणमा हामी तीनजनाले देउवाविरुद्ध मोर्चाबन्दी गर्छौँ। हामी नेतृत्व परिवर्तनको पक्षमा छौँ।’
























