नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका भएपनि प्राविधिक कारण भर्खर मात्रै मतदान सुरु भएको हो ।
मतदान गर्न बिहान बिहान साढे ७ बजेदेखि महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन्।
प्रतिनिधि मतदान गर्न लाइनमा बसेपछि उम्मेदवारहरु लाइनमै पुगेर आफूलाई मत मागिरहेका छन्। १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिएको छ।
निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्।
सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले प्रतिस्पर्धा गर्ने भएका हुन्। संस्थापनइतर समूहले शनिबारसम्मै साझा उम्मेदवारको पहल गरे पनि सफल हुन नसकेपछि सिंह र डा. कोइरालाको छुट्टाछुट्टै उम्मेदवारी परेको हो। १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन्।
























