कांग्रेस सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिद्वन्द्वी शेखर कोइरालालाई हराउँदै देउवा सभापतिमा निर्वाचित हुनुभएको हो । अघिल्लो दिनको निर्वाचनमा सभापतिको पाँच दाबेदारमध्ये कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नआएपछि देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा भएको थियो ।

कुल ४ हजार ७ सय ४३ मतदातामध्ये मंगलबार दोस्रो चरणको मतदानमा ४ हजार ५ सय ६२ मतदाता सहभागी भएका थिए । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमा २ हजार २ सय ५८ मत ल्याएका देउवाले दोस्रो चरणमा २ हजार ७२४ मत ल्याउनुभएको थियो । पहिलो चरणमा १ हजार ७ सय २ मत आएको कोइरालाको दोस्रो चरणमा १ हजार ८१७ मत आएको थियो ।

पहिलो चरणका प्रतिस्पर्धी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि देउवालाई नै सहयोग गरेका थिए । सिंहले ३ सय ७१ मत ल्याउनुभएको थियो भने निधिले २ सय ५० मत ल्याउनुभएको थियो । गुरुङको २२ मत आएको थियो । पहिलो चरणमा ७६ मत बदर भएको थियो । निर्वाचित भएपछि सभापति देउवाले कांग्रेसलाई अझ बलियो पार्दै आगामी निर्वाचनमा तीनै तहमा कांग्रेसको सरकार बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ । साथै, मतदाताहरु सबैलाई धन्यवाद दिँदै सभापति देउवाले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने पनि बताउनुभएको छ ।

यो अधिवेशनमा लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित हुनुभएका विजयकुमार गच्छदारको समूह, राप्रपाबाट कांग्रेसमा समाहित भएको सुनीलबहादुर थापाको समूहदेखि कांग्रेसको प्रकाशमान गुट, विमलेन्द्र निधिको गुटको समर्थनमा पुनः सभापति बनेका देउवालाई सुजाता कोइरालाले पनि साथ दिनुभएको थियो । कांग्रेसभित्र तेस्रो गुटका रुपमा रहेको कृष्णप्रसाद सिटौला समूहले पहिलो चरणमै देउवालाई समर्थन गरेको थियो । अहिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका महामन्त्री डा। शशांक कोइरालासमेत शेखरको पक्षमा खुलेर नलागेपछि शेखर कोइराला एक्लिएका थिए । युवा नेताको जोस र बूढा नेताको होसका साथ एकपटक यसैपटक भन्दै नेतृत्व दाबी गरेका कोइरालाको यो प्रतिस्पर्धा र प्राप्त नतिजाले देउवापछिको वैकल्पिक नेताका रुपमा स्थापित गरेको भन्दै कांग्रेसभित्र चर्चा हुन थालेको छ ।

शेखर कोइरालाले मत परिणामलाई सहर्ष स्वीकार गर्दै कांग्रेसभित्र बृहत्तर एकताको प्रयास जारी राख्ने बताउनुभएको छ । जसरी पनि देउवाको नेतृत्व परिवर्तन गर्ने भन्दै नेतृत्व दाबी गरिरहेका सिंह र निधिले दोस्रो चरणमा देउवा नै नभई हुँदैन भनेपछि आश्चर्यचकित बनेका कोइराला इतर पक्षको समीकरण बन्ने आशामा थिए । नेतृत्व परिवर्तनको वकालत गर्दै सभापतिको दाबी पेस गरेका सिंह, निधि र गुरुङले दोस्रो चरणमा देउवालाई नै साथ दिने बताएपछि कोइरालाई राजनीतिमा इमानदारिताको प्रश्न उठाउनुभएको छ । कोइरालाले नैतिकता गुमाएपछि राजनीति नहुने भन्दै उहाँले राजनीतिमा इमानदारिता चाहिने बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*