माओवादीको आठौं महाधिवेशन उद्घाटन समारोह सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा माओवादीको आठौं महाधिवेशन सुरु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा, विशेष अतिथिका रुपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल, अतिथिका रुपमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका छन् भने अतिथिहरु आउने क्रम जारी रहेको छ ।
शनिबारसम्म महाधिवेशन नभनेर राष्ट्रिय सम्मेलन गर्ने भनिए पनि एकाएक माओवादीले हिजो सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । महाधिवेशन आगामी १५ गतेसम्म चल्नेछ ।
महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्ने बताइएको छ भने माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ ।
पदाधिकारीभित्र १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् । यस्तै केन्द्रीय सदस्य २९९ सदस्यीय रहने भनिएकोमा केही सङ्ख्या थप गर्ने निर्णय भएको छ ।
























