सिरहामा भोलिसम्मका लागि निषेधाज्ञा जारी

सिके राउत नेतृत्वको जनमत पार्टीले चरणवद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जनमत पार्टीले चक्काजाम सहितका आन्दोलन थालेपछि प्रशासनले आज बिहान ७ बजेदेखि बुधबार साँझ ५ बजेसम्मका लागि पूर्वपश्चिम राजमार्ग र सिरहा(चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबाया लागूहुने गरी निषेधाज्ञा जारी गरेको हो।

प्रशासनका अनुसार निषेधित क्षेत्रमा समूहमा हिँडडुल गर्न पाइने छैन भने पाँच जनाभन्दा बढी भेला हुन पनि पाइने छैन । कुनै किसिमका भेला, सभा तथा जुलुस गर्न नपाउने आदेशमा उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार यातायात भने सूचारु रहनेछ । आदेश उल्लंघन गरेमा नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही हुने प्रशासनले चेतावनी दिएको छ ।

पूर्वमा बलान खोला र पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ। जनमत पार्टीले पक्राउ परेका किसानहरुको विनासर्त रिहाईको माग गर्दै आन्दोलन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*