प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।
माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत प्रचण्डले सोमबार ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए ।
सो प्रतिवेदनमाथि २५ वटा समूहमा मंगलबारदेखि छलफल सुरु भएको हो । समूहहरुलाई विभिन्न स्थानमा छलफलका लागि स्थान तोकिएको छ र समूहको नेता पनि ।
तीनवटा समूहको छलफल पार्टी कार्यालय पेरिसडाँडामा भइरहेको छ । समूह १०, ११ र १२ को छलफल पेरिसडाँडामा भइरहेको हो ।
समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ हुन् । समूह १२ प्रवास प्रदेशका प्रतिनिधि अटाएका छन् । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त छन् ।
























