माओवादी महाधिवेशनमा २० समूहले पेश गरे सुझाव

स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा माओवादी केन्द्रको महाधिवेशन अन्तर्गत अहिलेसम्म २० वटा समूहले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा सुझाव पेश गरेका छन्।

अझै पाँच समूहले सुझाव दिएपछि बिहीबार बेलुका प्रचण्डले जवाफ दिनेछन्। यस्तै नेतृत्व चयनका सम्बन्धमा छलफल गर्न स्थायी कमिटीको बैठक बस्दैछ।

माओवादीले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समिति मात्रै चयन गर्ने तयारी गरेमा निर्वाचन आयोगले नमान्ने भएपछि सबै पदाधिकारीसहित निर्वाचित गर्नु पर्ने भएको छ। सोही कारण माओवादीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी पनि गरेको छ।

माओवादी केन्द्रको आठौँ महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई नै पुनः चयन गर्ने निश्चित छ। अहिलेसम्म अध्यक्षमा कसैले दाबी गरेको छैन र प्रचण्डलाई पार्टीलाई अलपत्र पारेर बीचमै नेतृत्व छाड्न नपाइने भन्दै नेता कार्यकर्ताहरुले दबाबसमेत बढाउँदै आएका छन्।

महाधिवेशनमा प्रस्तावित विधानले माओवादीमा १५ पदाधिकारी रहने व्यवस्था गरिएको छ। जसमा अध्यक्ष एक, एकजना वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारी रहने विधान प्रस्ताव गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*