बिजुली जाने समस्या समाधान हुन्छ – कुलमान
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन्।
शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताएका हुन्।
उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताए। उनले काठमाडौँ उपत्यकामा अब ९ वटा सबस्टेशन थपिने भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताए। प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरु लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताए।
उनले भने, ‘विगत ३र४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो। यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन। काठमाडौँमा मात्रै हो। यो सप्लाईको कारणले भएको समस्या होइन। सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति नभएको पनि होइन। वास्तवमा हाम्रो विद्युतको बेलुकाको पिक लोड अहिले करिब १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट आइरहेको छ। त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ। अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ। काठमाडौँमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वभाविक हो।’
प्रमुख कार्यकारी निर्देशक घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने बताए। उनले केही स्थानमा त्यहाँका बासिन्दाहरुले सबस्टेशन बनाउन नदिएकोले पनि समस्या आउने गरेको भन्दै स्थानीयहरुले सब्स्टेशन बनाउन दिन आग्रह गरे।
























