देउवालाई शेखरको प्रश्न – कुन मापदण्डको आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो ?
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ ।
बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समुहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो रु सो कुरा जान्न चाहेको भनि सभापति देउवालाई प्रश्न गर्नुभएको हो ।
उहाँले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने बताउनुभयो । उहाँले पार्टी सभापतिलाई मन पर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनौट भएमा दुर्घटना निम्तिनसक्ने चेतावनी समेत दिनुभयो ।
कोइरालाले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरु असहज हुन सक्ने उहाँको भनाई छ ।
कोइरालाले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्ने बताउनुभयो । कांग्रेसलाई एक्लै लडेर विजयी बनाउने उहाँले बताउनुभयो । पार्टीलाई एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर जनताको विचमा जाने पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो समुह पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन नसकेपनि पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गराउन आवाज उठाउने बताउनुभयो । काठमाडौंस्थित होटल बसेरामा नेता कोइराला पक्षका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको समिक्षा गर्नुका साथै आगामी कार्यदिशाको सम्बन्धमा छलफल हुने नेता कोइरालाले जानकारी दिनुभयो ।
























