उच्चस्तरीय समितिले अवरुद्ध संसदलाई सुचारु गर्न पहल गर्ने
काठमाडौँ – सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले निरन्तर नाराबाजी गर्दा संसद बैठक प्रभावित हुँदै आएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएकाले समितिले संसद सुचारु गराउन पहल गर्ने भएको बताए।
संसद सुचारु गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उनले औंल्याए।उनका अनुसार बैठक राष्ट्रियसभा सदस्य निर्वाचनको सम्बन्धमा केन्द्रित भएको थियो।
‘संसद लामो समयदेखि अवरुद्ध छ। यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन। त्यसैले संसदलाई सुचारु गर्नेबारेमा पनि छलफल भएको छ’। मन्त्री कार्कीले भने, ‘संसद सुचारु गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भूमिका र कर्तव्य रहन्छ। त्यसैले संसदलाई सुचारु गर्नका निम्ति पहल गर्ने निर्णय भएको छ।’
संसद सुचारु गर्ने सम्बन्धमा समितिका संयोजक कांग्रेसका नेता पौडेलले बुधबार प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। पौडेल ओलीसँग भेटवार्ताका लागि बालकोट पुगेका थिए।
मन्त्री कार्कीले राष्ट्रियसभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम सुचारु गर्ने पनि बताए।
























