देशका औद्योगिक क्षेत्रहरूको अवस्था बारे संघीय मन्त्रालयलाई कुनै ज्ञान छैन – मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले देशका औद्योगिक क्षेत्रहरूको पछिल्लो अवस्था बारे संघीय मन्त्रालयहरूलाई कुनै ज्ञान नै नभएको बताएका छन् ।

हेटौँडामा आयोजित उद्योग संघ मकवानपुरको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश भित्रका ४ वटा औद्योगिक क्षेत्रको पछिल्लो अवस्था बारे संघीय मन्त्रालय नै अनविज्ञ रहेको बताएका हुन् । उनले ती औद्योगिक क्षेत्रको अवस्था सुधार गर्ने काम संघीय मन्त्रालयको प्राथमिकतामा समेत नपरेको बताए । उनले ती औद्योगिक क्षेत्रको संरक्षण नहुँदा औद्योगिक क्षेत्रका जमिनहरू जङ्गलमा परिणत भएका छन् भने त्यसको अवस्था बुवा आमा नभएका टुहुरा सन्तानको जस्तो रहेको बताए ।

‘बागमती प्रदेशमा ४ वटा औद्योगिक क्षेत्रहरू पर्छन् । ती औद्योगिक क्षेत्रको अवस्था आमाबुवा गुमाएका सन्तानको हालत जे हुन्छ त्यस्तै छ । आज भन्दा ३० औँ वर्ष अघि जसले उद्योग खोल्छु भनेर जग्गा लिजमा लियो त्यो मान्छे अहिले कहाँ छ थाहा छैन तर उनीहरूकै नाममा त्यो जग्गाको स्वामित्व छ । बनमारा उम्रिसक्यो उद्योग बनाउने ठाउँमा बेहाल छ । त्यसको संरक्षण छैन । सिंहदरबारको मन्त्रालयलाई त्यो ज्ञान छैन ।’ उनले भने ।

विगतमा प्रदेश सरकारको विषयगत मन्त्रालय पर्यटन र वनसँगै रहेकाले उद्योगका क्षेत्रमा खासै काम गर्न नसकेको उनको भनाई छ । पर्यटन र वनका काम गर्न सजिलो हुने भएकाले उद्योगतर्फ कुनै मन्त्रीहरूको ध्यान नगएको उनले बताए । ती नै उद्योगहरूको विषयमा काम गर्न मन्त्रालय विभाजन गरेर सम्बन्धित मन्त्रीहरूलाई जिम्मेवारी दिएको र यसबाट सम्बन्धित क्षेत्रहरूमा देखिने गरी प्रगति हुने उनले बताए ।

‘खर्च बढ्छ भन्ने चिन्ता गरेर मन्त्रालय विभाजनको निर्णयको विरोध भइरहेको छ । मैले पनि देखेको छु । सरकारको खर्च बढ्नु पर्छ । सरकारको ढुकुटी सञ्चित गरेर राख्नु हुँदैन । खर्च गरे तरलता अभाव कम हुन्छ । खर्च गरेर काम गरेर नतिजा लिने हो । अहिले बैंकमा गयो भने योजना राम्रो छ तर ऋण दिन सक्दिन भन्ने जवाफ आउँछ । त्यो खर्च नगरेर भएको हो । आम्दानी बढाउने गरी सरकारले खर्च गर्नुपर्छ हामी त्यसैमा लागेका छौँ,’ मुख्यमन्त्री पाण्डेले भने ।

उनले उद्योगीहरूको समस्याको समाधानका लागि प्रदेश सरकार तयार रहेको बताए । प्रदेश सरकारको क्षेत्र भन्दा बाहिरको समस्याहरू मन्त्रिपरिषद्बाट निर्णय गरेर संघीय सरकार समक्ष पठाउने उनले बताए ।

विगतमा विद्युत् ऊर्जाको कमी हुँदा विभिन्न ठुला उद्योगहरू नेपालमा स्थापना गर्न नसकिएको र हाल करिब ६ सय मेगावाट विद्युत् खेर गइरहेकाले उद्योगहरूले पनि विद्युत् खपत बढाउनतर्फ अग्रसर हुनु पर्ने उनको भनाई छ । विद्युत् प्राधिकरणलाई धराशायी हुनबाट जोगाउन पनि हामीले विद्युत् खपतलाई बढाउनु पर्ने हुन्छ त्यसैले अन्य ऊर्जाको प्रयोग कम गरेर विद्युतीय ऊर्जाको प्रयोग बढाउनु पर्ने आवश्यकता देखिएको उनले बताए ।

कृषि क्षेत्रलाई पनि उद्योगसँग जोड्दै लैजाने योजना अनुसार प्रदेश सरकारले हेटौँडा औद्योगिक क्षेत्र भित्रै एउटा प्रदेशस्तरको कृषि औजार तथा उपकरण उत्पादन कम्पनीको पनि स्थापना गर्ने तयारी गरेको उनले बताए ।रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*